निर्वाचनका लागि वातावरण बनिसकेको छ-सञ्चारमन्त्री खरेल
काठमाडौँ । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनिसकेको दाबी गरेका छन् ।
जनमत पार्टीको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री खरेलले फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक, प्रशासनिक तथा मनोवैज्ञानिक रूपमा अनुकूल अवस्था तयार भइसकेको जिकिर गरे ।
उनका अनुसार अधिकांश राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुन तयार अवस्थामा देखिएका छन् र आ–आफ्नो तयारी तीव्र बनाइरहेका छन् ।
मन्त्री खरेलले जनमत पार्टी पनि निर्वाचनको तयारीमा सक्रिय रहेको उल्लेख गर्दै सबै दल निर्वाचन प्रक्रियामा होमिन थालेको देख्दा सरकार उत्साहित भएको बताए ।
“चुनावको वातावरण बनाउन सरकारको तर्फबाट प्रमुख राजनीतिक दलहरूको पार्टी कार्यालयमै पुगेर छलफल गरेका छौँ,” उनले भने, “हामी जहाँ–जहाँ गयौँ, त्यहाँबाट चुनावका लागि वातावरण तयार भइसकेको र दलहरू पनि तयार रहेको सन्देश पाएका छौँ । त्यसैले सरकार उत्साहका साथ निर्वाचनतर्फ अघि बढेको छ ।”
सरकारद्वारा गठित राजनीतिक संवाद समितिको तर्फबाट कानूनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेल तथा प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल विभिन्न राजनीतिक दलका कार्यालयमा पुगेर निर्वाचनको वातावरण निर्माणमा सहकार्य गर्न आग्रह गर्दै छलफलमा जुटिरहेका छन् ।
सरकारले सबै दललाई सहभागी गराउँदै निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ राजनीतिक संवादलाई तीव्र बनाएको जनाएको छ ।








