कांग्रेस बैठकको केन्द्रमा महाधिवेशन व्यवस्थापन : कार्यतालिकामा पुनर्विचारको दबाब
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी रहने भएको छ । बुधबारदेखि सुरु भएको बैठक पार्टीको आगामी १५ औँ महाधिवेशनलाई कसरी व्यवहारिक, समयसापेक्ष र संगठनमैत्री बनाउने भन्ने बहसमा केन्द्रित देखिएको छ ।
पार्टी प्रवक्ता प्रकाशशरण महत का अनुसार आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा महाधिवेशनको ढाँचा र कार्यतालिकामाथि थप छलफल हुनेछ । हाल प्रस्तावित कार्यतालिका व्यवहारिक नभएको भन्दै त्यसमा संशोधन गर्नुपर्ने आवाज केन्द्रीय तहमा बलियो बन्दै गएको छ ।
हिजोको बैठकमा अधिकांश नेताहरूले पार्टी संगठनलाई थप चुस्त र प्रभावकारी बनाउने गरी महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका थिए । लामो र जटिल तालिकाले संगठन व्यवस्थापनमा समस्या आउने तर्कसहित समय व्यवस्थापन गर्न सकिने नयाँ ढाँचा आवश्यक रहेको धारणा बैठकमा उठेको थियो ।
बैठकमा महामन्त्री गगन थापा ले महाधिवेशन र क्रियाशील सदस्यतासम्बन्धी विषयमा विस्तृत ब्रिफिङ गर्दै वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरेपछि सिधै केन्द्रीय महाधिवेशनमा जान सकिने प्रस्ताव अघि सारेका छन् । उनको प्रस्तावलाई पार्टीभित्र संगठनात्मक चुस्तता र खर्च कटौतीसँग जोडेर हेरिएको छ ।
आजको बैठकमा थापाको प्रस्तावसहित महाधिवेशनको समग्र कार्यप्रणालीमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम निरन्तर रहने बताइएको छ ।
बैठकका निष्कर्षले कांग्रेसको आगामी आन्तरिक राजनीति र संगठनात्मक दिशालाई महत्वपूर्ण रूपमा प्रभावित गर्ने अपेक्षा गरिएको छ ।








