वैकल्पिक राजनीतितर्फ बालेन साह : ‘लौरो’ बोकेर चुनावमा हाेमिने अन्तिम तयारी
दाङ (देउखुरी) । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अब केवल स्थानीय सरकारका प्रमुख मात्र छैनन् । पछिल्ला दिनहरूमा देखिएको गतिविधिले उनी राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकाका साथ प्रवेश गर्ने तयारीमा रहेको स्पष्ट संकेत दिएको छ ।
आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल निर्माण गर्ने गृहकार्यमा जुटेका बालेनले राजधानी र उपत्यकाका विभिन्न स्थानमा राजनीतिक दलका नेता, जेन–जी अभियन्ता, कलाकार, सञ्चारकर्मी र सामाजिक अभियन्तासँग निरन्तर छलफल गरिरहेका छन् ।
कुपण्डोलको ‘मध्यरात’ र नयाँ सन्देश
ललितपुरको कुपण्डोलस्थित एक निजी घरमा बुधबार मध्यरातसम्म चलेको बैठकलाई बालेनको राजनीतिक यात्राको महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ ।
बैठक औपचारिकभन्दा अनौपचारिक थियो, तर एजेन्डा गम्भीर थियो-पुराना दलको विकल्प के सम्भव छ ? नयाँ पुस्ताको भरोसा कसरी राजनीतिक शक्तिमा बदल्ने ?
बैठकमा सहभागी एक नेताका शब्दमा, “यो कुनै औपचारिक पार्टी घोषणा थिएन तर बालेन आफैं नेतृत्वमा आउनुपर्ने निष्कर्षतर्फ छलफल केन्द्रित थियो ।”
‘नयाँ शक्ति’ एकै ठाउँमा
छलफलमा नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरी, जनमत पार्टीका अध्यक्ष सिके राउत, राप्रपाका नेता ज्ञानेन्द्र शाही, जेन–जी अभियन्ता रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय, पूर्व विवेकशील साझाका मिलन पाण्डे, कलाकार निश्चल बस्नेत, सञ्चारकर्मी सुरजसिंह ठकुरी र ऋषि धमला सम्मको सहभागिता थियो । यति फरक पृष्ठभूमिका व्यक्तिहरू एउटै टेबलमा बस्नुले नै बालेनले खोजेको ‘क्रस–सेक्टरल’ राजनीति संकेत गर्छ ।
पार्टी तयार, नाम र चिन्ह लगभग टुंगो
बालेननिकट स्रोतहरूका अनुसार पार्टीको नाम देश विकास पार्टी नै रहने लगभग निश्चित छ । चुनाव चिन्ह पनि परिचित ‘लौरो’ नै हुनेछ । संयोग मात्र होइन, यही लौरो चिन्हबाट बालेन काठमाडौंको मेयर बनेका थिए ।
पार्टीका प्रारम्भिक दस्तावेज, संरचना र नीतिगत खाका पहिले नै तयार भइसकेको दाबी गरिएको छ । अब बाँकी रहेको काम भनेको को–को अट्छन् ? कसले प्रत्यक्ष लड्छ ? र कसले संगठन सम्हाल्छ ? भन्ने प्रश्नहरूको उत्तर खोज्नु हो ।
रवि लामिछानेसँग दूरी कि रणनीतिक पर्खाइ ?
यसअघि बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग लामो छलफल गरेका थिए । एउटै गाडीमा बाहिरिएको दृश्यले ‘अब एउटै पार्टी’ भन्ने अनुमान पनि जन्मायो । तर कुपण्डोलको छलफलले एउटा कुरा प्रस्ट गर्यो-बालेन अरूको नेतृत्व स्वीकार गर्न तयार छैनन् ।
“रविसँग सहकार्यको ढोका बन्द छैन, तर पार्टीको नेतृत्व बालेनकै हातमा रहने संकेत बलियो छ,” छलफलमा सहभागी एक नेताले भने ।
राजनीतिक वृत्तमा सबैभन्दा चासोको विषय बनेको छ-बालेनको सम्भावित निर्वाचन क्षेत्र । पत्रकार ऋषि धमलाका अनुसार बालेनले झापा क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् । यो क्षेत्र एमाले अध्यक्ष केपी शर्मा ओली को निर्वाचन क्षेत्र हो ।
यदि बालेनले यही क्षेत्र रोजे भने, त्यो केवल चुनावी प्रतिस्पर्धा मात्र होइन, राजनीतिक सन्देश हुनेछ-पुरानो शक्तिकेन्द्रसँग प्रत्यक्ष भिडन्त ।
जेन–जी, इन्फ्लुएन्सर र ‘पपुलर फेस’
बालेनको रणनीति परम्परागत देखिँदैन । पार्टी निर्माणमा जेन–जी आन्दोलन, सामाजिक सञ्जालमा प्रभाव राख्ने अनुहार, उद्यमी र सामाजिक अभियन्तालाई समेट्ने प्रयास भइरहेको छ । समानुपातिकतर्फ उम्मेदवारको सूची संकलनसमेत सुरु भइसकेको स्रोतहरू बताउँछन् ।
एक सहयोगी भन्छन्, “यो पार्टी संगठनभन्दा बढी भरोसा र छविमा आधारित हुनेछ ।” बालेन साहको यात्रा अब मेयरको कुर्सीमै सीमित छैन ।
कुपण्डोलका मध्यरात, लगातार बैठक र फरक–फरक अनुहारसँगको संवादले एउटा कुरा देखाएको छ-उनी विकल्पको राजनीति संस्थागत गर्न खोज्दैछन् ।








