११ पुस २०८२, शुक्रबार

रास्वपाको समानुपातिक सूची सार्वजनिक : आवेदकबाट दुई करोड ७ लाख संकलन

प्रकाशित मिति :  26 December, 2025 10:39 am


दाङ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया अघि बढाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकांक्षी उम्मेदवारहरूबाट लिएको आवेदन शुल्कले पार्टीभित्र नयाँ बहस जन्माएको छ ।

प्रति व्यक्ति ५० हजार रुपैयाँका दरले आवेदन खुलाउँदा रास्वपाले कुल दुई करोड सात लाख रुपैयाँ संकलन गरेको जनाएको छ।

रास्वपाका अनुसार समानुपातिकतर्फ ४१४ जना आकांक्षीले आवेदन दिएका थिए। तीमध्ये ३८७ जनाको अन्तिम सूची सार्वजनिक गरिएको छ भने २७ जनाको नाम सूचीमा समावेश गरिएको छैन। पार्टीले सूचीबाहिर परेका आकांक्षीलाई भने भर्चुअल माध्यमबाट छनोट प्रक्रियामा सहभागी गराइने बताएको छ।

शुक्रबार, २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको यो सूचीले रास्वपाको संगठनात्मक अभ्यास मात्र होइन, आर्थिक पारदर्शिता र समावेशिताबारे पनि प्रश्न उठाएको छ ।

एकातिर, सीमित स्रोतसाधन भएको नयाँ दलका लागि शुल्क संकलनलाई ‘व्यवस्थापनको उपाय’का रूपमा व्याख्या गरिएको छ भने अर्कोतर्फ, सबै आकांक्षी समान रूपमा सूचीमा नपर्नु आन्तरिक छनोट मापदण्ड कति पारदर्शी छन्? भन्ने जिज्ञासा पनि देखिएको छ।

पार्टीले भने छनोट प्रक्रियालाई प्रविधिमैत्री र सहभागितामूलक बनाउने दाबी गर्दै आएको छ। भर्चुअल छलफल र मूल्याङ्कनमार्फत अन्तिम निर्णय हुने बताइए पनि, सार्वजनिक सूची र भर्चुअल प्रक्रियाबीचको विभाजनले आगामी दिनमा थप स्पष्टीकरण माग्ने संकेत देखिएको छ।

यसरी, समानुपातिक उम्मेदवार छनोटले रास्वपाको आर्थिक व्यवस्थापन, संगठन विस्तार र आन्तरिक लोकतन्त्र—तीनै पक्षलाई एकैपटक परीक्षणमा राखिदिएको छ।

समानुपातिक सूची हेर्नुहाेस्



प्रतिक्रिया दिनुहोस !