१ चैत्र २०८२, आइतबार

विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन

प्रकाशित मिति :  26 December, 2025 4:41 pm


काठमाडाैँ । सरकारविरुद्ध सडकमा उत्रिएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले आन्दोलनलाई दीर्घकालीन राजनीतिक दबाबको रणनीतिका रूपमा अघि बढाएको संकेत दिएको छ।

शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शनमार्फत आन्दोलनको औपचारिक थालनी गर्दै पार्टीले वर्तमान सरकारलाई वैधता नदिने सन्देश दिएको हो ।

सरकारविरोधी नाराबाजीसहित भएको प्रदर्शनमा सहभागीहरूले ‘सर्वपक्षीय सरकार गठन’को मागलाई मुख्य एजेन्डा बनाएका छन् ।

आन्दोलन घोषणा कार्यक्रममा पार्टी महासचिव नेत्रविक्रम चन्द ले अन्तरिम सुशीला कार्की नेतृत्वको सरकारप्रति कडा टिप्पणी गर्दै त्यसलाई जनभावनाविपरीतको संरचना भएको दाबी गरे ।

उनले आन्दोलन कुनै एकदिने प्रतिक्रिया नभई निरन्तर चल्ने राजनीतिक संघर्ष भएको उल्लेख गर्दै सरकारमाथि दबाब बढाइने चेतावनी दिए ।

पार्टीका नेताहरूका अनुसार यो आन्दोलन केवल नाराबाजीमा सीमित नहुने, आगामी दिनमा थप कार्यक्रम सार्वजनिक गर्दै चरणबद्ध रूपमा अगाडि बढाइनेछ ।

उनीहरूले वर्तमान राजनीतिक व्यवस्थाले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको निष्कर्षसहित वैकल्पिक शासन संरचनाको बहस अघि सारेका छन्।

यससँगै राजधानीमा सुरु भएको आन्दोलनले देशको समग्र राजनीतिक तापक्रम बढाउने संकेत देखिएको छ, जसले सरकार र विपक्षी शक्तिबीचको दूरी अझ फराकिलो बनाउने विश्लेषण गरिएको छ।



प्रतिक्रिया दिनुहोस !