१३ पुस २०८२, आइतबार

भूराजनीतिक षड्यन्त्रविरुद्ध एकजुट हुन एमाले महासचिव पोखरेलको आह्वान

प्रकाशित मिति :  28 December, 2025 11:12 am


काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भाद्र २३ र २४ गते भएका घटनालाई लक्षित गर्दै ती गतिविधि नेपाललाई भूराजनीतिक द्वन्द्वको गोटी बनाउने षड्यन्त्रको पहिलो चरण भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भनाइमा शान्तिपूर्ण युवाप्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरिएको आरोप लगाएका छन्।

उनका अनुसार भाद्र २३ गतेको घटनापछि भाद्र २४ गते राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो, जसको उद्देश्य मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउनु थियो । यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने तथ्य क्रमशः सार्वजनिक हुँदै गएको पोखरेलको भनाइ छ ।

पोखरेलले उक्त घटनाक्रमलाई नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको आरम्भिक चरणका रूपमा व्याख्या गर्दै अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारीसमेत सुरु भएको दाबी गरेका छन् ।

यस्तो गम्भीर परिस्थितिमा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक रहेको उनको जोड छ ।

उनले नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !