निर्वाचन नै देशलाई निकास दिने उत्तम विकल्प-संयोजक दाहाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ले मुलुकलाई विद्यमान संकटबाट निकास दिने सबैभन्दा उपयुक्त र व्यवहारिक विकल्प निर्वाचन नै भएको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै संयोजक दाहालले निर्वाचन बाहेक अन्य विकल्पतर्फ सोचिए देश पुनः अर्को दुर्घटनातर्फ जानसक्ने चेतावनी दिए ।
उनले राजनीतिक स्थिरता, स्थायित्व र विकासको नयाँ प्रक्रियातर्फ मुलुकलाई अघि बढाउन सबै राजनीतिक दल निर्वाचन प्रक्रियामा सहभागी हुने वातावरण बनेको उल्लेख गरे ।
संयोजक दाहालले भन्नुभयो, “देशलाई निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो। अन्य विकल्पतर्फ सोच्यो भने देश फेरि अर्को दुर्घटनामा पर्न सक्छ । त्यसैले पहिलो पार्टी र नेतृत्वको हैसियतले आज हामी निर्वाचन प्रक्रियामा बन्दुसूची प्रस्तुत गर्दैछौँ ।”
निर्वाचनमार्फत नै देशलाई स्थिरता र विकासको मार्गमा लैजान सकिन्छ भन्ने साझा बुझाइ विकास हुनु सकारात्मक भएको उनको भनाइ थियो।
उनले सबै राजनीतिक दल तथा सरोकारवालाको सामूहिक प्रयासबाट संकटमा परेको राष्ट्रलाई निकास दिन सकिने विश्वास व्यक्त गरे ।
अराजकता फैलिने हो कि भन्ने सन्त्रास र आशंकाबाट देशलाई मुक्त गर्ने जिम्मेवारी सबैको एकतामा रहेको उल्लेख गर्दै दाहालले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउनु आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै संयोजक दाहालले नयाँ पुस्ता तथा युवाहरूको राजनीतिप्रति बढ्दो चासोलाई सकारात्मक संकेतका रूपमा लिनुपर्ने धारणा राखे । उनले शान्तिपूर्ण र लोकतान्त्रिक विधिमार्फत नै देशलाई निकास दिनु आजको प्रमुख आवश्यकता भएको उल्लेख गरे ।








