१४ पुस २०८२, सोमबार

जेनजी आन्दोलनमा बल प्रयोगको निर्देशन दिएको छैनः पूर्वगृहमन्त्री लेखक

प्रकाशित मिति :  29 December, 2025 4:38 pm


काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै लिखित वा मौखिक आदेश नदिएको प्रष्टिकरण दिएका छन् ।

जाँचबुझ आयोगमा वयान दिएलगत्तै काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै लेखकले आफूले बल प्रयोगका लागि आफूले कुनै लिखित तथा मौखिक आदेश नदिएको प्रष्टिकरण दिएका हुन् । आयोगलाई पनि उनले सोही कुरा बताएका छन् ।

कुनै पनि आन्दोलनको क्रममा प्रधानमन्त्री वा मन्त्रीले सुरक्षा निकायलाई कति र कसरी बल प्रयोग गर्ने ? भन्ने आदेश दिने कुनै संवैधानिक वा कानूनी व्यवस्था नभएको लेखकको जिकिर थियो ।

उनले आन्दोलनका क्रममा हाताहाती भइसकेपछि राजनीतिमा नैतिकतालाई सर्वोच्च मूल्य मानेर गृहमन्त्रीबाट राजीनामा दिएको दाबी पनि गरे ।

पूर्वगृहमन्त्री लेखकले भने,“राजनीतिमा नैतिकता सबैभन्दा मूल्यवान विषय हो भन्ने मेरो विश्वास रहेको छ । त्यसै कारण नैतिकताका आधारमा राजीनामा दिएको हो । अन्यथा यस्ता प्रदर्शनहरूमा गृहमन्त्रीले बल प्रयोग गर्नेबारे कुनै लिखित र मौखिक आदेश दिने प्रश्न नै उठ्दैन । न त त्यस्तो कुनै कानुनी व्यवस्था नै छ ।”

पूर्वगृहमन्त्री लेखकले आफूले २२ भदौमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समग्र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूलाई दिशानिर्देश मात्रै दिएको दाबी गर्दै त्यसलाई बल प्रयोगको आदेशका रूपमा व्याख्या गर्नु गलत भएको पनि बताए ।

पूर्वगृहमन्त्री लेखकले भने,“ गृहमन्त्रीले उपलब्ध सूचनाका आधारमा समग्रमा दिशानिर्देश गर्ने हो, जुन मैले २२ गतेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गरेको थिए । प्रधानमन्त्री वा मन्त्रीले कसैलाई यति बल प्रयोग गर, यसरी गर भन्ने कुरा पनि होइन ।”

उनले आन्दोलनको क्रममा बल कति र कसरी गर्ने भन्ने विषयमा स्थानीय प्रशासन र फिल्डमा खटिएका सुरक्षाकर्मीले तत्कालीन वस्तुस्थितिको आधारमा गर्ने उनको जिकिर छ ।

उनले जेनजी आन्दोलनका मागहरू जायज भएपनि आन्दोलनमा घुसपैठक हुँदा मुलुकले ठुलो धनजनको क्षति व्यहोर्नुपरेको प्रति दुःख व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !