१४ पुस २०८२, सोमबार

एमालेको बन्दसूचीमा अनुभवीदेखि नयाँ पुस्तासम्म : समावेशितामा सन्तुलन खोज्ने प्रयास

प्रकाशित मिति :  29 December, 2025 8:38 pm


काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले तयार पारेको बन्दसूची निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भएको छ । केन्द्रीय सदस्य निरज आचार्यले आयोगमा सूची बुझाएका हुन् ।

यसपटक एमालेको बन्दसूचीले ‘पुरानो अनुभव र नयाँ पुस्ता’ बीच सन्तुलन खोजेको देखिन्छ । पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, सचिव पद्मा अर्यालजस्ता अनुभवी नेतासँगै जेन–जी पुस्ताकी निताता घतानीलाई समेटिनुले नेतृत्व हस्तान्तरणको संकेत दिएको छ ।

नयाँ अनुहारतर्फ क्रान्ति बुर्लाकोटी र भूमिका सुब्बाको समावेशीकरणले पार्टीभित्र उदाउँदै गरेको नयाँ राजनीतिक धारलाई स्थान दिएको छ ।

संस्थागत अनुभवलाई निरन्तरता दिने गरी लेखा आयोगका अध्यक्ष डा. पुष्प कडेल र स्थायी कमिटीका पूर्व सदस्य गोरखबहादुर बोगटीलाई पनि सूचीमा राखिएको छ ।

त्यस्तै, लामो समयदेखि संगठनमा सक्रिय रहँदै आएका राजकुमार श्रेष्ठ (रामेछाप) लगायतका पुराना नेताहरू पनि समेटिएका छन् ।

महिला, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्र, दलित र अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास सूचीमा देखिन्छ ।

अपाङ्गता भएका समुदायबाट रामबहादुर थापा (स्याङ्जा) र यसुदा बराल, दलित समुदायबाट मिना बराम, मनकुमारी तितुङ, माया देवी पौडेल, निर्मल दउला र जितु गौतम, तथा अल्पसंख्यकतर्फ रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ र इच्छा चौधरीलाई समेटिएको छ । पिछडिएको क्षेत्रबाट आठ जनाको प्रतिनिधित्व राखिएको जनाइएको छ ।

पार्टी स्रोतका अनुसार केही नाम र क्लस्टर प्राविधिक रूपमा मिलान गर्न बाँकी रहेकाले सम्पूर्ण सूची सार्वजनिक गरिएको छैन । तथापि, बन्दसूचीले एमालेले समावेशिता, पुस्तान्तरण र संगठनात्मक सन्तुलनलाई प्राथमिकतामा राख्दै निर्वाचनमा जाने रणनीति बनाएको स्पष्ट संकेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !