१६ पुस २०८२, बुधबार

जेन–जी आन्दोलनले आत्मसमीक्षाको अवस्था सिर्जना गरेको छ-दाहाल

प्रकाशित मिति :  31 December, 2025 3:55 pm


काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेन–जी आन्दोलनले देशको राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले अब राजनीति नयाँ संकल्प र प्रतिबद्धतासहित जनताको आवश्यकतालाई सम्बोधन गर्ने कि आफ्नो औचित्य समाप्त भएको स्वीकार गर्दै पन्छिने भन्ने निर्णायक मोडमा पुगेको धारणा राखे ।

अध्यक्ष दाहालले देश अहिले विरलै देखिने गम्भीर संकटबाट गुज्रिरहेको उल्लेख गर्दै यसको समाधान सर्वपक्षीय सहमति र सामूहिक संकल्पबाट मात्र सम्भव हुने बताए ।

उनले सबै राजनीतिक शक्ति मिलेर अघि बढ्ने वातावरण बन्दै गएको उल्लेख गरे । प्रधानमन्त्रीले देश अन्योलमा छैन भन्ने सन्देश दिन सफल भएको भन्दै त्यसका लागि धन्यवाद व्यक्त गर्दै दाहालले अहिले जनता र राजनीतिक दलहरू निर्वाचनको कुनै विकल्प नरहेको निष्कर्षमा पुगेको बताए ।

जेन–जी आन्दोलनबारे टिप्पणी गर्दै उनले भने, “यस आन्दोलनले हामी सबैलाई आत्मसमीक्षा गर्न उत्प्रेरित गरेको छ । अब नयाँ संकल्पसहित जनताको आवश्यकता सम्बोधन गर्दै अघि बढ्ने कि आफ्नो औचित्य सकिएको स्वीकार गर्दै पन्छिने भन्ने अवस्था बनेको छ ।”

अध्यक्ष दाहालले विकास र समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्रप्रति राज्यको दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए ।

निजी क्षेत्रलाई प्रोत्साहन नगरेसम्म आर्थिक प्रगति सम्भव नहुने उनको भनाइ थियो । शान्ति, स्थायित्व र समृद्धि आजको मुख्य आवश्यकता भएको उल्लेख गर्दै उनले त्यसका लागि निर्वाचन सम्पन्न गरी आगामी सरकारमार्फत संविधान संशोधन गर्नु नै दीर्घकालीन समाधान हुने धारणा व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !