समानुपातिक प्रणालीको मर्मको सम्मान गर्दै सचिन ढकालले लिए उम्मेदवारी फिर्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेका सचिन ढकाल ले उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएको छ ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा उहाँको नाम समावेश भएपछि चौतर्फी विरोध सुरु भएको थियो । सोही पृष्ठभूमिमा ढकालले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी फिर्ता लिने निर्णय सार्वजनिक गर्नुभएको हो ।
फेसबुकमा जारी वक्तव्यमा ढकालले नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै व्यक्तिगत कारणवश यस पटक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको स्पष्ट पार्नुभएको छ । साथै उहाँले युवाको सामूहिक नेतृत्व, सुशासन र समुन्नत नेपालको निर्माण अभियानप्रति निरन्तर प्रतिबद्ध रहने उल्लेख गर्नुभएको छ ।
आगामी दिनमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी बहन गर्न आफू सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै ढकालले उद्यमशीलताको प्रवर्द्धनमार्फत सामाजिक रूपान्तरण र मुलुकको विकास आवश्यक रहेको धारणा राख्नुभएको छ । नवयुवाहरू अघि बढिरहेको वर्तमान परिवेशमा आफूलाई समानुपातिक बन्दसूचीमा समावेश गरेकोमा पार्टी नेतृत्वप्रति आभार पनि प्रकट गर्नुभएको छ ।
‘सुशासनसहितको समुन्नत नेपाल निर्माणका लागि नवीन सोच, ऊर्जा र प्रतिबद्धतासहित नवयुवाहरूको सामूहिक प्रयासप्रति मेरो सदा साथ र सहयोग रहनेछ,’ उहाँले उल्लेख गर्नुभएको छ ।
ढकाल चन्द्र ढकाल का छोरा हुनुहुन्छ । उहाँ एफसी चितवन (फुटबल चितवन क्लब) का अध्यक्ष हुनुका साथै पर्यटन तथा हस्पिटालिटी व्यवसायमा पनि संलग्न रहँदै आउनुभएको छ ।








