रोल्पामा रास्वपाबाट बालाराम थापा एकल सिफारिस
काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पाबाट बालाराम थापालाई एकल उम्मेदवारको रूपमा सिफारिस गरेको छ।
जिल्लाको कार्य समितिको पछिल्लो बैठकले प्रत्यक्षतर्फ थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।सुनिलस्मृति गाउँपालिका घर भएका थापा पेशाले पूर्वाधार विज्ञ तथा युवा व्यवसायी हुन्। राजनीतिशास्त्रमा मास्टर्स गरेका उनले एक दशकदेखि विपन्न समुदायलाई लक्षित गर्दै सामाजिक सेवा गर्दै आएका छन्।
थापाले भने, “विगतमा रोल्पाबाट दर्जनौं नेताहरू राजकीय भूमिकामा पुगे पनि जिल्लाले अपेक्षित विकासको आधारशिला भेट्न सकेको छैन। पुराना नेताहरू भाषणमै सिमित भएका कारण रोल्पाले अपेक्षित फड्को मार्न सकेको छैन।”
उनका अनुसार विकासको लागि सर्वप्रथम जनताको आधारभूत जीवनस्तर सुधार्न जरुरी छ। उनले थपे, “रोल्पाले जन्माएका नेताहरूले देशलाई सिंगापुर वा स्वीट्जरल्याण्डको सपना देखाएका हुन्, तर त्यो सपना वास्तविकता भन्दा धेरै टाढा छ। मेरो उद्देश्य जनतालाई सपना देखाउनु होइन, यथार्थ सुधार गर्नु हो।”
जिल्ला उपसभापति समेत रहेका थापाले अपांग र दृष्टिविहीन नागरिकहरूको लागि आवास निर्माणमा उल्लेख्य योगदान पुर्याएका छन्। आगामी निर्वाचनमा उनले जनता आफ्नै विवेक प्रयोग गर्न आग्रह गरेका छन्।
उनले भने, “नेताहरूले जति ठूलो भाषण गरे पनि मुलुकका अधिकांश इट्टाभट्टामा पुग्ने बालबालिका रोल्पाली नै हुन्। नामका स्वास्थ्य केन्द्र भए पनि राम्रो उपचार नहुँदा बुटवल वा काठमाडौँ जान बाध्य हुन्छन्। रोजगारी र गुणस्तरीय शिक्षा नहुँदा हाम्रा छोराछोरी विदेशिन बाध्य छन्। यसलाई रोक्न र आधार तयार पार्न यो पटक जनता विवेकपूर्ण निर्णय गर्नु होला।”
विगतमा रोल्पाबाट तत्कालीन नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन जितेका थिए। तर यसपटक रास्वपाको आक्रामक उपस्थितिले बालाराम थापालाई बलियो उम्मेदवारको रूपमा उभ्याएको विश्लेषकहरू बताउँछन्।
नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) पनि चुनाव तालमेल गरेर नेत्रविक्रम चन्द विप्लवलाई अघि सार्ने तयारीमा रहेको जानकारी प्राप्त भएको छ।








