स्याङ्जा–२ काँग्रेसबाट भागवतप्रकाश मल्लले दर्ता गरे उम्मेदवारी
प्रकाशित मिति : 20 January, 2026 1:16 pm
काठमाडाैँ । नेपाली काँग्रेसका नेता भागवतप्रकाश मल्लले आज वालिङ नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्ता गरिएसँगै स्याङ्जा–२ को राजनीतिक प्रतिस्पर्धा थप चासोको विषय बनेको छ। काँग्रेसले लामो समयदेखि संगठनमा पकड भएका र अनुभवी मल्ललाई मैदानमा उतारेको हो।
यसअघि स्याङ्जा–२ बाट नेपाली काँग्रेसका तत्कालीन उपसभापति धनराज गुरुङ विजयी भएका थिए। गुरुङ हाल पार्टीका अन्य जिम्मेवारीमा सक्रिय रहेका कारण काँग्रेसले मल्ललाई उम्मेदवार बनाएको बुझिएको छ।
स्थानीय तहदेखि केन्द्रसम्म स्याङ्जा क्षेत्र नम्बर २ मा मल्लको विकल्प नरहेको चर्चा चलिरहेको थियो, जसले उनको उम्मेदवारीमा थप राजनीतिक चासो उत्पन्न गरेको छ।








