प्रकाश शाही दाङ क्षेत्र नम्बर-१ मा सबैभन्दा कान्छा उम्मेदवार
काठमाडौँ । नेकपा (माओवादी)बाट उम्मेदवार रहेका प्रकाश शाही दाङ क्षेत्र नम्बर १ को सबैभन्दा कान्छा उम्मेदवार बनेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार दाङ क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका ९ जनामध्ये शाही सबैभन्दा कान्छा उम्मेदवार हुन् ।
४० वर्षीय शाही पहिलो पटक प्रतिनिधि सभामा उम्मेदवार बनेका हुन् । उनी अखिल क्रान्तिकारी(हाल अखिल समाजवादी)का पूर्वअध्यक्ष हुन् । उनी भ्रष्टाचारविरोधी अभियानमा सक्रियतापूर्वक लागेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्काली प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतभित्रै कालोमोसो दलेपछि शाही चर्चामा आएका थिए ।
शाही शासनकालमा मुख्यसचिव रहेका कार्की गणतान्त्रिक सरकारले अख्तियार प्रमुखमा नियुक्त गरेको थियो । कार्की नै भ्रष्टचारमा संलग्न रहेको आरोप लागेको थियो ।
तत्कालीन समयमा सबैभन्दा बढी शक्तिशाली मानिएका कार्कीलाई शाहीसहितको विद्यार्थी समूहले सर्वोच्च अदालत परिसरभित्रै कालोमोसो दलेको थियो । शाहीलाई अहिले नेकपा (माओवादी)ले दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको हो ।









