चौधरीको उम्मेदवारी खारेजप्रति जसपाको आपत्ति, असंवैधानिक र अलोकतान्त्रिक रहेकाे ठहर
काठमाडाैँ । जनता समाजवादी पार्टीले नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक पूर्व सांसद रेशमलाल चौधरीको उम्मेदवारी अस्वीकार गरिएको घटनाप्रति आपत्ति जनाएको छ।
पार्टीले उक्त कदमलाई असंवैधानिक, प्रतिशोधपूर्ण र अलोकतान्त्रिक हर्कतको संज्ञा दिँदै त्यसको कडा विरोध तथा भर्त्सना गरेको छ।
पार्टीले काठमाडौँस्थित केन्द्रीय कार्यालयबाट जारी गरेको विज्ञप्तिमा पहिचानको प्राप्तिका लागि संघर्षरत एक सशक्त व्यक्तित्वको उम्मेदवारी अस्वीकार हुनु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उल्लेख गरिएको छ। “यस्तो निर्णयले लोकतन्त्र र समावेशी राजनीतिमाथि प्रश्न खडा गरेको छ,”विज्ञप्तिमा भनिएको छ ।
जनता समाजवादी पार्टीले यो घटनालाई पहिचानका मुद्दामा लडिरहेका जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालबिच एकल चुनाव चिन्ह ‘जाँतो (चकिया)’मार्फत निर्वाचन लड्ने निर्णयसँग जोडेर हेरेको छ। तीन दलको उक्त सहकार्यबाट इर्ष्यालु बनेका कुतत्त्वहरूले षड्यन्त्रपूर्वक यस्तो गतिविधि अघि बढाएको आशंका पार्टीले गरेको छ।
विज्ञप्तिमा निष्पक्ष निर्वाचन सम्पन्न गर्ने दायित्व बोकेको निर्वाचन आयोगले यस्ता गतिविधि सच्याउने विश्वास व्यक्त गरिएको छ। तर, यदि समयमै सच्याइएन भने यसबाट उत्पन्न हुने गम्भीर परिणामको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनी पनि दिइएको छ।








