९ माघ २०८२, शुक्रबार

स्याङ्जा–२ मा रास्वपा र प्रलोपाबिच चुनावी सहमति, प्रलोपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिने

प्रकाशित मिति :  23 January, 2026 1:43 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बिच स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सहमति भएको छ।

दुबै पार्टीबिच आज भएको सहमतिअनुसार प्रतिनिधिसभा निर्वाचनतर्फ पहिलो हुने निर्वाचित प्रणालीअन्तर्गत प्रलोपाका उम्मेदवार टिकाराम रेग्मीले आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन्।

सहमति अनुसार रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि रास्वपाका स्याङ्जा क्षेत्र नं. २ का पहिलो हुने निर्वाचित उम्मेदवार झविलाल डुम्रेलाई समर्थन गर्ने निर्णय गरिएको छ।

यसले क्षेत्रीय तहमा परिवर्तनको पक्षमा रहेको मत एकीकृत हुने अपेक्षा गरिएको छ।

यद्यपि, समानुपातिकतर्फ भने दुवै दलले आ–आफ्नै चुनाव चिह्नमा मतदान गर्न मतदातालाई आग्रह गर्ने सहमति भएको छ। यसबाट दुबै पार्टीले आफ्ना संगठनात्मक पहिचान कायम राख्दै सहकार्यको अभ्यास अघि बढाएको देखिन्छ।

दुबै पार्टीका अनुसार जेनजीको भावना, आम नागरिकको चाहना तथा राजनीतिक परिवर्तनको मर्मलाई आत्मसात् गर्दै गरिएको हो। सहमतिप्रति रास्वपाले प्रलोपाप्रति कृतज्ञता व्यक्त गरेको छ।

यस सहमतिलाई स्याङ्जा क्षेत्र नं. २ मा वैकल्पिक राजनीति र सहकार्यको सन्देशका रूपमा हेरिएको छ।



प्रतिक्रिया दिनुहोस !