९ माघ २०८२, शुक्रबार

भट्टराईले लिए गोरखा-२ बाट उम्मेदवारी फिर्ता

प्रकाशित मिति :  23 January, 2026 1:44 pm


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् ।

फागुन २१ गते हुन लागेको निर्वाचनका लागि गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका भट्टराईले आज उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् ।

भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए ।

यसअघि निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई अन्तिम समयमा पार्टीले उम्मेदवार बनाएको थियो । तर गोरखा–२ मा रहेका अन्य दलका उम्मेदवारहरूले समेत उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि उनले आफ्नो निर्णय पुनर्विचार गरेका बताइएको छ ।

उम्मेदवारी फिर्ता लिएपछि कसलाई समर्थन गर्ने भन्ने विषयमा भने उनले केही खुलाएका छैनन् ।

गोरखा–२ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ (मिलन चक्रे), राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी लगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।



प्रतिक्रिया दिनुहोस !