स्याङ्जासहित चार निर्वाचन क्षेत्रमा यातायात व्यवसायी चुनावी मैदानमा
काठमाडाैँ । देशभर यातायात व्यवसायी तथा मजदुरका मुद्दालाई संसदसम्म पुर्याउने उद्देश्यसहित चार जना प्रमुख यातायात व्यवसायी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका छन्।
निजी क्षेत्रको लगानी र व्यवस्थापनमा सञ्चालन हुँदै आएको सार्वजनिक यातायात क्षेत्रको नेतृत्व गर्दै नीति निर्माण तहमा पुग्ने लक्ष्यसहित उनीहरू चुनावी मैदानमा उत्रिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिए ।
उनका अनुसार महासंघका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँर नेपाली कांग्रेसबाट कैलाली–२, पश्चिम क्षेत्रका यातायात व्यवसायी विष्णु खड्का कांग्रेसकै तर्फबाट सुर्खेत–१ र वरिष्ठ यातायात व्यवसायी भागवत मल्ल स्याङ्जा–२ बाट उम्मेदवार बनेका छन्।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कर्णाली यातायातका प्रमुख रमेश सापकोटा सुर्खेत–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेको सिटौलाले बताए ।
यातायात क्षेत्रको प्रतिनिधित्व नीति निर्माणको तहमा नपुग्दा सार्वजनिक यातायात क्षेत्र अस्तव्यस्त बन्दै गएको उनको भनाइ छ। नीति बनाउने निकायमा यातायात क्षेत्रको सहभागिता नहुँदा ठूलो लगानी भएको र मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार मानिने यो क्षेत्र भद्रगोल अवस्थामा पुगेको सिटौलाले उल्लेख गरे ।
उनले भने, “नेपाली नागरिकले सबैभन्दा धेरै प्रयोग गर्ने सेवा सार्वजनिक यातायात हो। तर संसदमा यसको प्रत्यक्ष प्रतिनिधित्व नहुँदा यो क्षेत्र व्यवस्थित हुन सकेको छैन। यही अवस्थालाई सुधार्न महासंघ र यातायात व्यवसायीको साझा निर्णयमा महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले उम्मेदवारी दिनुभएको हो।”
यातायात क्षेत्रका समस्या, व्यवसायी र मजदुरका हकहित तथा दीर्घकालीन नीति निर्माणका लागि यी चारै जना उम्मेदवारलाई संसदसम्म पुर्याउन देशभरका यातायात व्यवसायीलाई एकजुट भएर लाग्न सिटौलाले आग्रह गरे ।








