१२ माघ २०८२, सोमबार

राष्ट्रिय झण्डालाई पाखुरा, कम्मर र घाँटीमा ज्याकेट वा मफलर जस्तै बनाएर नबेर्न काँग्रेसको निर्देशन

प्रकाशित मिति :  26 January, 2026 4:55 pm


काठमाडाैँ । नेपाली काँग्रेसले निर्वाचन प्रचार–प्रसारका क्रममा राष्ट्रिय झण्डाको प्रयोगमा उच्च सम्मान र सतर्कता अपनाउन पार्टीका सबै तहका समिति तथा कार्यकर्तालाई निर्देशन दिएको छ।

पार्टीका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले ५ बुँदे विशेष परिपत्र जारी गर्दै राष्ट्रिय झण्डाको मर्यादा र गरिमालाई कुनै पनि हालतमा आँच नआउने गरी प्रयोग गर्न आग्रह गरेका हुन्।

परिपत्रमा निर्वाचन आचारसंहिता अनुसार चुनावी अभियानमा १० वटासम्म मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने उल्लेख गरिएको छ। साथै राष्ट्रिय झण्डा सधैं व्यक्तिको शिरभन्दा माथि रहने गरी सम्मानपूर्वक फहराउनुपर्ने स्पष्ट गरिएको छ।

झण्डा झुकाउने परम्परा मृत्युपछिको शोकमा मात्र प्रयोग हुने भएकाले प्रचारका क्रममा यस्तो अभ्यास नगर्न निर्देशन दिइएको छ।

कांग्रेसले उम्मेदवार वा प्रचारक कसैको पनि शरीरमा राष्ट्रिय झण्डा ओढाउने कार्य निर्वाचन आचारसंहिता, राष्ट्रिय सम्मान र सामाजिक संस्कार सबै दृष्टिले गलत हुने भन्दै पूर्ण रूपमा निषेध गरेको छ।

परिपत्रमा राष्ट्रिय सम्मानका साथ शवयात्रा वा दागबत्तीअघि मृतकको शरीरमा झण्डा ओढाउने प्रचलन मात्र मान्य हुने तथ्य स्मरण गराइएको छ।

त्यसैगरी पाखुरा, कम्मर वा घाँटीमा ज्याकेट वा मफलर जस्तै बनाएर राष्ट्रिय झण्डा बेर्ने कार्यलाई झण्डाको अपमान मान्दै यस्तो गतिविधि कदापि नगर्न र गर्न नदिन कडा निर्देशन दिइएको छ।

कार्यक्रम स्थल, प्रचार कार्यालय वा सवारी साधनमा राष्ट्रिय झण्डा फहराउँदा पार्टीको झण्डा र चुनाव चिन्हभन्दा माथि राख्नुपर्ने उल्लेख गरिएको छ। परिपत्रमा राष्ट्रिय झण्डाको सम्मान व्यवहारमै कार्यान्वयन गर्न पार्टीका सबै संरचनालाई सचेत गराइएको छ।

नेपाली काँग्रेसले राष्ट्रिय झण्डाको दुरुपयोग गरेर सच्चा देशभक्ति देखाउन नसकिने स्पष्ट गर्दै देशका लागि सत्कर्म नै सच्चा देशभक्तिको मापदण्ड भएको धारणा दोहोर्‍याएको छ। पार्टी यस विषयमा दृढ र स्पष्ट रहेको पनि परिपत्रमा उल्लेख छ।

काँग्रेसले राष्ट्रिय झण्डाको मर्यादा, सम्मान र गरिमाको रक्षा गर्नु सबैको साझा दायित्व भएको स्मरण गराउँदै सबैलाई सजग रहन आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस !