लुम्बिनी प्रदेशमा ‘विपद् जोखिम न्यूनीकरण प्रदेश कार्यमञ्च’ गठन
काठमाडाैँ । लुम्बिनी प्रदेशमा विपद् व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यसहित ‘विपद् जोखिम न्यूनीकरण लुम्बिनी प्रदेश कार्यमञ्च’ गठन गरिएको छ।
दाङको घोराहीमा हिजो आयोजित एक कार्यक्रममा उक्त कार्यमञ्च गठनसम्बन्धी जानकारी दिइएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यमञ्च गठन गरिएको छ। कार्यमञ्चको सचिवका रूपमा डिपीनेटका प्रतिनिधि रहनेछन् भने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू सदस्यका रूपमा सहभागी छन्।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले लुम्बिनी प्रदेशबाट सुरू गरिएको यो कार्यमञ्च आगामी दिनमा देशका सातै प्रदेशमा गठन गरिने जानकारी दिए ।
उनले प्रदेशस्तरमा सरोकारवालाबीच समन्वय र सहकार्य मजबुत बनाउँदै विपद् पूर्वतयारी, प्रतिकार्य र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउने उद्देश्य कार्यमञ्चको रहेको बताए ।
कार्यक्रममा प्राधिकरणका सहसचिव रोशनी कुमारी श्रेष्ठ, उपसचिव गोमा ढकाल पौडेल, लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न मन्त्रालयका विपद् फोकल पर्सन, सरकारी तथा गैरसरकारी संस्था, उद्योग वाणिज्य महासंघ, बिमा प्राधिकरण, नेपाल पत्रकार महासंघलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।








