मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर स्वास्थ्य प्रणाली सुधार गरिन्छ: मन्त्री गौतम
काठमाडाैँ । अन्तरिम सरकारकी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले आफू मन्त्री रहुन्जेल मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताएकी छन् ।
बिहीवार काठमाडौँमा आयोजित नर्सिङ एशोसिएशनको ६४औँ वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गौतमले मानसिक स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको प्रमुख एजेन्डा बनाउने गरी अघि बढिरहेको स्पष्ट पारिन् ।
उनले वैदेशिक रोजगारीमा गएका नेपालीको स्वास्थ्य अवस्था, मातृ तथा शिशु मृत्युदर न्यूनीकरण र प्रणाली सुधारलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको उल्लेख गरिन्।
मन्त्री गौतमका अनुसार वैदेशिक रोजगारीका लागि हजारौँ नेपाली दैनिक रूपमा देश बाहिरिने अवस्था रहेकाले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा राज्यको ध्यान केन्द्रित हुन आवश्यक छ।
साथै, चार वटा प्रदेशमा मातृ तथा शिशु मृत्युदर अत्यन्त उच्च रहेको उल्लेख गर्दै ती प्रदेशमा आक्रामक रूपमा कार्यक्रम सञ्चालन गर्ने आफ्नो लक्ष्य रहेको बताइन् ।
स्वास्थ्य प्रणाली सुधारका सन्दर्भमा उनले बिमा कार्यक्रम, औषधि नियमन, औषधिको खरिद–बिक्री तथा आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाइन्। कमजोरी देखिएका क्षेत्रमा सुधार गर्दै प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ।
कार्यक्रममा बोल्दै मन्त्री गौतमले जीवनको हरेक चरणमा आफूलाई प्रमाणित गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरिन्। नर्सिङ एशोसिएशन नर्सहरूको हक र हितका लागि क्रियाशील संस्था भएको उल्लेख गर्दै उहाँले नर्सहरूको भूमिकाले स्वास्थ्य सेवाको गुणस्तर निर्धारण गर्ने बताइन् ।








