१६ माघ २०८२, शुक्रबार

शहीद दिवसमा पोखरेलको भावुक सन्देश-शहीदहरुको बलिदानको स्मृतिबाट लोकतन्त्र सुदृढ गर्ने संकल्प गरौँ

प्रकाशित मिति :  30 January, 2026 8:05 am



काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले परिवर्तन जोगाउने ऐतिहासिक जिम्मेवारी पूरा गर्न सबैलाई आग्रह गरेका छन् ।

शहीद दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै महासचिव पोखरेलले जहानियाँ राणा शासनको निरङ्कुश अन्धकार चिर्दै नेपालमा प्रजातन्त्रको उज्यालो ल्याउने आन्दोलनको प्रारम्भ भएको यही दिनलाई स्मरण गर्दै राष्ट्रका चार सपुत गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दले दिएको अमूल्य बलिदानलाई नमन गरेका छन् ।

ती होनहार युवाहरूले दिएको प्राणको आहुति नै आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बलियो जग भएको पोखरेलको भनाइ छ ।

उनले लोकतन्त्र कुनै सहज उपहार नभई नेपाली जनताको पीडा, त्याग र निरन्तर संघर्षबाट आर्जिएको शासन व्यवस्था भएको उल्लेख गरे ।

“जब–जब लोकतन्त्र चुनौतीमा पर्छ, तब–तब शहीदहरूको सम्झना गर्नुपर्छ, उनीहरूबाट प्रेरणा लिनुपर्छ र लोकतन्त्रलाई सवल, सुदृढ र जीवन्त बनाउने नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ,” उनले सन्देशमा भनेका छन् ।

महासचिव पोखरेलका अनुसार शहीद दिवस केवल विगतको स्मरणमा सीमित रहने दिन होइन, वर्तमानलाई जिम्मेवार बनाउने र भविष्यलाई सुरक्षित गर्ने संकल्प गर्ने अवसर हो । शहीदहरूको बलिदानबाट प्राप्त उपलब्धिलाई कमजोर हुन नदिने प्रतिबद्धता नै उनीहरूप्रति सच्चा श्रद्धाञ्जली हुने उनले बताए ।

सन्देशमा पोखरेलले महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आदर्श र त्यागबाट प्रेरणा लिने दृढ संकल्प व्यक्त गरेका छन् ।

https://www.facebook.com/reel/926205449975235



प्रतिक्रिया दिनुहोस !