१६ माघ २०८२, शुक्रबार

मतदाता सचेतनामा जोड : निर्वाचन आयोगद्वारा क्षेत्रअनुसार फरक आकारका मतपत्र सार्वजनिक

प्रकाशित मिति :  30 January, 2026 8:11 am


दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग ले मतदातालाई केन्द्रमा राखेर निर्वाचन तयारीलाई तीव्र बनाएको छ । त्यसैको एक महत्वपूर्ण कडीका रूपमा आयोगले जिल्ला र निर्वाचन क्षेत्रअनुसार फरक–फरक ढाँचाका नमूना मतपत्र सार्वजनिक गरेको हो ।

आयोगका अनुसार मतपत्रको डिजाइन केवल प्राविधिक आवश्यकता मात्र नभई मतदातालाई सजिलो र स्पष्ट मतदान अनुभव दिन केन्द्रित छ । एउटामात्र निर्वाचन क्षेत्र भएको जिल्लाका लागि सरल ढाँचाको मतपत्र र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि फरक संरचनाको मतपत्र तयार गरिएको छ । यसले मतदातालाई आफ्नो क्षेत्रअनुसार सही तरिकाले मत हाल्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उम्मेदवारको सङ्ख्यालाई पनि मतपत्रको आकार निर्धारणको मुख्य आधार बनाइएको छ। उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रमा मतपत्र ठूलो र कम उम्मेदवार भएका क्षेत्रमा सानो आकारको मतपत्र प्रयोग गरिने आयोगले जनाएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र उम्मेदवार रहेको काठमाडौंमा भने मतपत्र आकार तुलनात्मक रूपमा ठूलो हुने निश्चित छ ।

प्रदेशगत रूपमा हेर्दा, कर्णाली प्रदेशका सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एउटामात्र निर्वाचन क्षेत्र रहेकाले त्यहाँ एकल ढाँचाको मतपत्र प्रयोग हुनेछ ।

दैलेख र सुर्खेतमा भने दुईवटा निर्वाचन क्षेत्र रहेकाले फरक ढाँचाका मतपत्र तयार गरिएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एक–एक निर्वाचन क्षेत्र, अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्रअनुसार मतपत्रको नमूना सार्वजनिक गरिएको छ ।

निर्वाचन तयारीसँगै मतदाता शिक्षालाई पनि समानान्तर रूपमा अघि बढाइएको आयोगले जनाएको छ । सचेतना कार्यक्रमका लागि तयार पारिएका नमूना मतपत्र मतदान केन्द्र मातहतसम्म पुर्याउने काम सुरु भइसकेको छ, जसले मतदातालाई मतदान प्रक्रियासँग अग्रिम रूपमा परिचित गराउने उद्देश्य राखेको छ ।

मतपत्र छपाइको काम हाल जनक शिक्षा सामग्री केन्द्र मा जारी छ। आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भने सम्पन्न भइसकेको छ । अन्य जिल्लाका वास्तविक मतपत्र पनि चरणबद्ध रूपमा सार्वजनिक गर्दै जाने तयारी आयोगले गरेको छ ।



प्रतिक्रिया दिनुहोस !