निजी क्षेत्रलाई गाली गरेर ‘दलाल’को ट्याग लगाउनु हुँदैन्ः महामन्त्री पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले निजी क्षेत्रलाई गाली गरेर ‘दलाल’को ट्याग लगाउनु नहुने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौँमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा दलको तर्फबाट धारणा राख्दै राजनीतिक दलले कानुनको दायरामा बसेर नाफा कमाउनेलाई दलाल भन्न नहुने बताएका हुन् ।
दलहरूले लामा घोषणापत्र ल्याउने र ती घोषणापत्रमा लेखिएका कुरा पुरा नहुँने भएकाले काँग्रेसले ‘१० बुँदामा घोषणपत्र’ ल्याउने पनि पौडेलले जानकारी दिए ।
“कानुनको दायरामा बसेर नाफा कमाउनेहरुलाई हामीले दलालको ट्याग लगाउनु हुँदैन, यो भास्यको अन्त्य हुनुपर्छ । उनीहरूले रोजगारी सृजना र राज्यलाई तिर्ने कर ठूलो हुन्छ,” पौडेले भने, “व्यवसायीले ठूलो मेहनतले पुँजी निर्माण गरेको हुन्छ । पूँजी निर्माणमा निजी क्षेत्रलाई हामीले सहयोग गर्नुपर्छ ।”
पौडेलले सम्भाव्य क्षेत्रमा रोजगारी सृजना गर्ने खाका दलहरूका घोषणा पत्रमा हुनुपर्ने बताए । नयाँ क्षेत्रको पहिचान गरी अर्थतन्त्रमा ती क्षेत्रलाई जोड्ने योजना पनि घोषणा पत्रमा हुने उनको भनाइ छ । “हामीले घोषणापत्रमा राख्ने कन्टेन्टको विषयमा सबैसँग छलफल गरेर राख्नुपर्छ । हामी सबैको सुझाव समेट्छौं । छलफल चलाइरहेका छौैं,”उनले भने, “हामीले स्थिरता चाहिन्छ भनेको आर्थिक विकासकै लागि हो । अब हामीले राम्रा आर्थिक मुद्दा ल्याएर प्रतिस्पर्धा गर्ने हो । गाली गरेर हैन ।”
राजनीतिक दलका कार्यक्रमका आधारमा जनताले मतदान गर्ने भन्दै आर्थिक दृष्टिकोणमा दलह? स्पष्ट हुनुपर्ने र काँग्रेसले यसलाई आत्मसाथ गरेको बताए ।
“यसअघिका घोषणा पत्रमा धेरै लेख्यौं । हामीले कार्यान्वयन गर्न सकेनौं । अब भनिएका गरिएका बाचा कार्यन्वयन हुनेगरी एजेण्डा आउँछन् । देशका लागि १० एजेण्डा भनेर नेपाली काँग्रेसले तयारी गरेको छ । हाम्रा सबै आसय यसैमा समेट्छौं ।जनतालाई चित्तबुझनेगरी ल्याउँछौं । हामी भ्रस्टचारमुक्त नेपाल बनाउन चाहान्छौं,”उनले भने।
अर्थतन्त्रलाई डीजिटलाइजेसन गरेर मात्र भ्रस्टाचारको अन्त्य गर्न सकिने उनको भनाइ छ । प्रशासनिक संयन्त्र र तहगत सरकारका कामलाई पनि डिजिटलाइजेसन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
थोरै पूँजीगत खर्चबाट देश विकास गर्न नसकिने भन्दै यसलाई बढाउन के गर्न सकिन्छ भन्ने सोचसहित आफूहरुले योजना बनाइरहेको उनको भनाइ छ । उत्पादन निजी क्षेत्र गर्ने भन्दै यसलाई खुम्च्याउन नहुने उनको भनाइ छ । “शिक्षा, स्वास्थ्यमा राज्यले लगानी गर्नुपर्छ । रोजगारी सृजना गर्ने र उत्पादन बढाउने निजी क्षेत्रले गर्ने हो,” पौडेलले भने, “निजी क्षेत्रलाई फराकिलो बनाउनुपर्छ । प्राचित र पुरातन कुरा गरेर केही अर्थ छैन ।”
चीन र भारतलाई लक्षित गर्दै पौडेलले छिमेकी र अन्य देशसँगको सम्बन्धको बारेमा राष्ट्रिय धारण बनार्ने बताए । यसका लागि सबै दल तयार हुनुपर्ने पनि उनको भनाइ छ ।
नयाँ कानुनहरू व्यवसायिक बनाउनुपर्ने हो भने निजी क्षेत्रले स्पष्ट रुपमा भन्न सक्नुपर्ने र त्यसलाई राजनीतिक दलले पनि आत्मसाथ गर्नुपर्ने पौडेलले बताए । “एनआरएनहरुको पुँजी किन हामीले नेपालमा भित्र्याउन सकेनौं ? पूँजी भित्र्याउन कडाई गरेर वैदेशिक लगानी आउँदैन,” पौडेलले भने ।








