झापामा सामाजिक सञ्जालमार्फत मतदाताको राय सोध्न नपाइने, आचारसंहिता उल्लङ्घन गरे कारबाही हुने
काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गतिविधि बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले कडाइ गर्ने चेतावनी दिएको छ।
सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथा मतदातासँग कुन दल, उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्ने भन्ने प्रश्न सोध्ने कार्य गरिरहेको गुनासो प्राप्त भएपछि प्रशासनले सूचना जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमार्फत मतदाताको राय सार्वजनिक रूपमा सोध्नु तथा प्रसारण गर्नु निर्वाचन आचारसंहिता, २०८२ को दफा ४(द) विपरीत पर्न जान्छ। यस्तो कार्यले मतदाताको गोपनीयता भङ्ग हुने भएकाले आचारसंहिता उल्लङ्घनको श्रेणीमा पर्ने प्रशासनको ठहर छ।
प्रशासनले जारी गरेको सूचनामा उल्लेख भएअनुसार यो सूचना प्रकाशित भएपछि पनि कसैले यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ। यसप्रकारका कार्य नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।








