मितव्ययितालाई प्राथमिकता दिएकै कारण स्रोतसाधनको दुरुपयोग नियन्त्रणमा आयोः प्रधानमन्त्री कार्की
काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठनपछि सार्वजनिक निकाय तथा नियमनकारी संस्थामाथि कुनै पनि किसिमको अवाञ्छित दबाब नदिइएको दाबी गरेकी छन् । उनले ती निकायहरूलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ कानुनअनुसार काम गर्न दिइएको स्पष्ट पारिन्।
राष्ट्रिय सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारले मितव्ययितालाई उच्च प्राथमिकता दिएकै कारण स्रोतसाधनको दुरुपयोग धेरै हदसम्म नियन्त्रणमा आएको बताइन्। सरकारले अनावश्यक सुविधा नलिएको र सार्वजनिक खर्चमा संयम अपनाएको उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले सरकारी तथा सार्वजनिक निकायहरू स्वतन्त्र रूपमा काम गर्न पाएको परिणाम देखिन थालेको दाबी गर्दै केही उपलब्धि तत्काल देखिएको र केहीको प्रभाव दीर्घकालमा देखिने गरी आधार तयार गरिएको उल्लेख गरिन् । उनले सुशासन कायम गर्न नागरिकलाई सडकमा उत्रनुपर्ने अवस्था नआओस् भन्ने दिशामा सबै पक्ष सधैँ सचेत हुनुपर्नेमा जोड दिइन् ।
“यो सरकार गठन भएपछि मितव्ययितालाई हामीले प्रमुखताका साथ अंगीकार गर्यौँ। त्यसैले स्रोतसाधनको दुरुपयोग धेरै हदसम्म रोकिएको छ। हामीले अनावश्यक सुविधा लिएका छैनौँ। सार्वजनिक निकाय र नियमनकारी संस्थाहरूले कानुनबमोजिम गर्ने काममा कुनै प्रकारको अवाञ्छित दबाब दिएका छैनौँ। ती निकायहरूले पूर्ण रूपमा व्यावसायिक स्वतन्त्रताका साथ काम गरिरहेका छन्, जसका केही परिणाम अहिले देखिन थालेका छन् भने केही दीर्घकालीन रूपमा देखिने गरी आधार तयार गरिएको छ,”उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले यस वर्ष घटेका घटनालाई पाठका रूपमा लिँदै आगामी दिनमा कसैले पनि कानुनविपरीत काम गर्न नहुने धारणा राखिन् ।उनले राजनीतिक दलहरू सत्ताको मोहमा मग्न नभई विधिको शासनप्रति अटुट निष्ठाका साथ काम गर्नुपर्नेमा जोड दिइन् ।








