२१ माघ २०८२, बुधबार

आसन्न निर्वाचनमा करिब ३२ अर्ब खर्च हुने सरकारको अनुमान

प्रकाशित मिति :  4 February, 2026 11:38 am


काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने स्पष्ट पारेकी छन्। सरकारले कुनै पनि हालतमा निर्वाचन गराउन दृढ संकल्पका साथ काम गरिरहेको उनको भनाइ छ।

प्रधानमन्त्री कार्कीले विभिन्न कारणले कतिपय स्थानमा निर्वाचन अवरुद्ध हुने अवस्था आए पनि दोस्रो चरणमा भए पनि निर्वाचन गराइने बताइन्। विशेषगरी हिमाली जिल्लामा चिसो मौसमका कारण चुनौती आएमा सवारी साधन प्रयोग गर्न सकिने स्थानसम्म मतदातालाई ओसारेर भए पनि निर्वाचन सम्पन्न गराइने उनको भनाइ छ।

निर्वाचन कुनै पनि हालतमा हुने र नयाँ प्रतिनिधि चयन भएपछि सत्ता नयाँ सरकारलाई हस्तान्तरण गरिने उनले उल्लेख गरिन्। यसपटकको निर्वाचनमा करिब ३१ देखि ३२ अर्ब रुपैयाँ खर्च हुने अनुमान रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ।

कार्कीले भनिन्, “सरकारले जसरी पनि निर्वाचन गराउँछ। कतै रोकिए दोस्रो चरणमा गरिन्छ। थोरै ठाउँमा साधन प्रयोग गरेर पनि मानिसलाई ओसारेर भए पनि निर्वाचन गराउँछौँ। पूर्ण रूपमा असम्भव अवस्था आयो भने त्यहीअनुसार विचार गर्नुपर्छ। तर निर्वाचन जसरी पनि हुन्छ। यो इमरजेन्सी जस्तो अवस्था हो। निर्वाचन सर्दैन, किन सार्नु ? निर्वाचनमा जनताले मत दिन्छन्, नयाँ प्रतिनिधि आउँछन् र उनीहरूले देश चलाउँछन्।”

उनले निर्वाचन खर्चबारे स्पष्ट पार्दै अहिले खर्च भइरहेको रकम भौतिक पूर्वाधार र आवश्यक साधनको अभाव पूरा गर्नका लागि भएको बताइन्। “विभिन्न देशबाट सहयोग आइरहेको छ। यदि यो अवस्था नआएको भए त्यो सहयोग अन्य क्षेत्रमा प्रयोग हुन्थ्यो,” उनले भनिन्।



प्रतिक्रिया दिनुहोस !