प्रधानमन्त्री कार्की : तोकिएकै समयमा निर्वाचन, जसरी पनि सम्पन्न गरिन्छ
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने स्पष्ट पारेकी छन् । सरकारले जसरी पनि निर्वाचन गराउन प्रतिबद्ध रहेको बताउँदै उनले कुनै स्थानमा अवरोध आएमा दोस्रो चरणमा भए पनि निर्वाचन सम्पन्न गराइने बताइन् ।
हिमाली जिल्लाहरूमा चिसो र भौगोलिक कठिनाइका कारण समस्या आए सवारी साधन प्रयोग गर्न सकिने स्थानसम्म मतदातालाई ओसारेर भए पनि मतदान गराइने उनको भनाइ छ । “कहीँ निर्वाचन गर्नै नसकिने अवस्था आए त्यहीअनुसार वैकल्पिक उपाय खोजिन्छ, तर निर्वाचन रोकिन्न,” उनले जोड दिइन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई ‘इमरजेन्सी’ जस्तो विषयका रूपमा उल्लेख गर्दै जसरी पनि सम्पन्न गर्नुपर्ने बताइन् । निर्वाचनपछि जनताले चुनेका नयाँ प्रतिनिधिलाई सत्ता हस्तान्तरण गरिने उनको भनाइ छ ।
यसपटकको निर्वाचनमा करिब ३१–३२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको पनि उनले जानकारी दिइन् । विभिन्न देशबाट प्राप्त सहयोग र भौतिक साधनको व्यवस्थापन गर्दा खर्च बढेको उल्लेख गर्दै उनले भनेकी छन्, “निर्वाचन सर्दैन। जनताले मत दिएर नयाँ प्रतिनिधि चयन गर्ने प्रक्रिया अब रोकिँदैन ।”









