सरकार निर्वाचन सार्ने षडयन्त्रमा लागेको एमालेको आरोप
काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष तथा निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले सरकारले निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले सरकारको गतिविधिप्रति गम्भीर आशंका व्यक्त गरे । उनका अनुसार प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरूले निर्वाचन सार्ने संकेत देखिएको छ ।
“निर्वाचन सार्ने छनक प्रधानमन्त्रीले निरन्तर गरिरहेका छन्,” थापाले भने, “केही दिनअघि प्रधानमन्त्रीले हिमाली क्षेत्रको निर्वाचन सर्न सक्ने भनेर दिएको अभिव्यक्ति त्यसको स्पष्ट उदाहरण हो ।”
उपाध्यक्ष थापाले सरकारले निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले विभिन्न षडयन्त्रहरू गरिरहेको आरोप समेत लगाए । उनका अनुसार दलहरूलाई विवादमा तान्ने, न्यायालयमा आफ्नो प्रभाव जमाउने र समग्र निर्वाचन प्रक्रियालाई कमजोर बनाउने प्रयासमा सरकार तल्लिन रहेको छ।









