२१ माघ २०८२, बुधबार

लुम्बिनी प्रदेशको नवौं स्थापना दिवस : संघीयतालाई बलियो बनाउने आधार नै प्रदेश

प्रकाशित मिति :  4 February, 2026 2:48 pm


दाङ । लुम्बिनी प्रदेशको नवौँ स्थापना दिवस औपचारिक समारोहका साथ मनाइएको छ । लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा बुधबार राप्ती उपत्यका (देउखुरी) मा मूल समारोह सम्पन्न भएको हो ।

मूल समारोहको उद्घाटन गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास र समृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

उनले लुम्बिनी प्रदेश संवेदनशील तर सम्भावनायुक्त प्रदेश भएको उल्लेख गर्दै यसको भविष्य शासन गर्नेहरूको निर्णय र कार्यशैलीमा निर्भर रहने धारणा राखे ।

“यो प्रदेश संवेदनशील पनि छ, राम्रो पनि छ। कस्तो बनाउने भन्ने कुरा शासन गर्नेहरूको काँधमा छ,” उनले भने, “तीन–चार वटा विषय समस्या छन् भने तीन–चार वटा विषयमा प्रतिस्पर्धा पनि छ। यी पक्ष मिलाउन सक्यौँ भने लुम्बिनी उत्कृष्ट प्रदेश बन्न सक्छ ।”

सबै तह र क्षेत्रका आवाज प्रदेशले सुन्नुपर्ने बताउँदै उहाँले इतिहासमा शासकहरूको निर्णयका आधारमा नै स्थानहरूको विकास भएको स्मरण गरे ।

प्रदेशको संरचना र राजधानी क्षेत्र विस्तार गर्दा खेतको फाँटभन्दा उचो भूभाग प्रयोग गर्नुपर्ने सुझाव दिँदै उहाँले कृषियोग्य जमिन जोगाउन जोड दिए । “धान फल्ने फाँट जोगायौँ भने कोही पनि भोकै बस्नुपर्दैन,” उनले भने ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश स्थापना भएको आठ वर्ष पूरा हुँदै गर्दा संघीयतालाई संस्थागत र बलियो बनाउने काम प्रदेशबाट भएको बताए ।

संघीयताका कारण विकास जनताको घरआँगनसम्म पुगेको र त्यसको प्रत्यक्ष अनुभूति नागरिकहरूले गर्न पाएको उनको भनाइ छ । “प्रदेश बोझिलो भयो भन्ने भाष्य सही होइन,” मुख्यमन्त्री आचार्यले भने, “एक पटक प्रदेशमा भएको खर्च र त्यसबाट भएका उपलब्धिहरू हेरेर मात्रै मूल्याङ्कन गर्न अनुरोध गर्दछु ।”

उनले प्रदेश सरकार सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणका लागि पाँच वर्षे रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याइसकेको जानकारी दिए ।

“सुशासन र पारदर्शिताको कुरा आज धेरै उठ्छ, तर प्रदेश सरकारले यस क्षेत्रमा कानुनी आधार पहिल्यै तयार गरेर काम गरिसकेको छ,” उनले स्पष्ट पारे ।

प्रदेश सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभा र प्रदेश सरकारले जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएका क्षेत्रमा कानुन निर्माण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राख्दै आएको बताए ।

“कानुन निर्माणमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा छ,” उनले भने, “अब जनतासँग प्रत्यक्ष सरोकार राख्ने कानुनहरू निर्माण गर्ने भूमिकालाई अझ सशक्त बनाउँदै लगिरहेका छौँ ।”

पूर्व मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशको समृद्धिका लागि सुशासन अपरिहार्य रहेको उल्लेख गरे । कृषि र पर्यटनलाई केन्द्रमा राखेर योजना बनाएमा लुम्बिनी प्रदेशलाई समृद्ध र आत्मनिर्भर बनाउन सकिने उनको धारणा थियो ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षता तथा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सभाले आयोजना गरेको खुला वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई पनि पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने गलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय, बर्दियाकी पूर्णिमा ओली, दोस्रो हुने माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुल, घोराहीकी सलिना पौडेल र तृतीय हुने सोही विद्यालयका सिद्धान्त अधिकारीलाई पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रम प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण प्रदेश सभा उपसचिव लोकमणि पाण्डेले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !