लोकतन्त्र सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी र निष्पक्ष हुनुपर्छ : आयुक्त तुलाधर
काठमाडाैँ । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वसनीय हुनुपर्नेमा जोड दिएकी छन्।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि छनोट भएका निर्वाचन पर्यवेक्षकहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै आयुक्त डा. तुलाधरले निर्वाचन प्रक्रियामा पर्यवेक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएकी हुन् ।
निर्वाचन आयोगसँग सहकार्य गर्दै निर्वाचनको पर्यवेक्षण र अवलोकन गर्ने जिम्मेवारी पाएका राष्ट्रिय संस्थाहरूको भूमिका सह्रानीय रहेको उनको भनाइ थियो।
उनले निर्वाचन पर्यवेक्षणका क्रममा प्रचलित कानून, नियम, निर्देशिका तथा निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्न पर्यवेक्षकहरूलाई निर्देशन दिइन्। कुनै पनि राजनीतिक दल, उम्मेदवार वा सरोकारवाला पक्षको प्रभाव, आग्रह वा दबाबमा नपरी तटस्थ रहनुपर्नेमा उनले विशेष जोड दिइन्। व्यक्तिगत धारणा, पूर्वाग्रह वा अनुमानका आधारमा निष्कर्ष ननिकाली तथ्यमा आधारित भएर मात्र पर्यवेक्षण गर्न उनले आग्रह गरिन्।
अपुष्ट, अपूर्ण तथा भ्रामक सूचना सार्वजनिक हुँदा निर्वाचनको विश्वसनीयतामा गम्भीर असर पर्न सक्ने उल्लेख गर्दै आयुक्त डा. तुलाधरले सञ्चार र सूचना प्रवाहमा उच्च सतर्कता अपनाउन पर्यवेक्षकहरूलाई सचेत गराइन्। निर्वाचन केवल मतदान गर्ने प्रक्रिया मात्र नभई जनतामा निहित सार्वभौम सत्ताको प्रयोग गर्ने महत्वपूर्ण माध्यम भएको उनको भनाइ थियो।
निर्वाचन प्रक्रियामा आम जनताको विश्वास कायम राख्न कानूनी व्यवस्था र आचारसंहिताको पालना सुनिश्चित गर्नुका साथै निर्वाचन व्यवस्थापनलाई थप सुधारोन्मुख बनाउन निष्पक्ष, वस्तुनिष्ठ र जिम्मेवार पर्यवेक्षणले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा आयोगले गरेको उनले बताइन् ।
पर्यवेक्षणका क्रममा मतदान प्रक्रिया, मतगणना वा निर्वाचन व्यवस्थापनमा संलग्न कर्मचारीहरूको नियमित कार्यमा कुनै किसिमको अवरोध, हस्तक्षेप वा प्रभाव पार्ने गतिविधि गर्न नपाइने स्पष्ट पार्दै उनले उच्च नैतिकता, निष्पक्षता र व्यावसायिक आचरणका साथ जिम्मेवारी निर्वाह गर्न सबै पर्यवेक्षकहरूलाई आह्वान गरिन् ।
निर्वाचन आयोगले पर्यवेक्षकहरूलाई केवल अवलोकनकर्ताका रूपमा मात्र नभई लोकतन्त्र सुदृढीकरणका महत्वपूर्ण साझेदारका रूपमा लिएको आयुक्त डा. तुलाधरको भनाइ थियो।









