२३ माघ २०८२, शुक्रबार

स्वास्थ्य बिमाको भुक्तानीमा समस्या देखिए महानगरले व्यहोर्ने मेयर महर्जनको घोषणा

प्रकाशित मिति :  6 February, 2026 1:03 pm


काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालन भइरहेको स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बिमाको भुक्तानी नगरे महानगरपालिकाले आफैँ उक्त रकम तिर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर महर्जनले बिमाबापतको रकम समयमै भुक्तानी नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या उत्पन्न भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । बिमाको रकम नआउँदा सेवा बन्द गर्नुपर्ने अवस्था आए त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले नै बेहोर्नुपर्ने अवस्था आउने बताए ।

महानगर प्रमुख महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा भुक्तानीको जिम्मेवारी महानगरलाई सुम्पिएमा ललितपुर महानगरपालिकाले नै उक्त दायित्व पूरा गर्ने स्पष्ट पारे। “कथंकदाचित सरकारले अहिलेको अवस्थामा भुक्तानी महानगरपालिकाले नै गरिदिनु भन्ने पत्र पठायो भने, म जे पर्ला पर्ला, भुक्तानी गरिदिन्छु,”उनले भने।

मेयर महर्जनले पाटन अस्पतालकै प्राविधिक सल्लाह र सुझावअनुसार नयाँ स्वास्थ्य केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी पनि दिए । उनका अनुसार उक्त स्वास्थ्य केन्द्र निकट भविष्यमै सञ्चालनमा आउनेछ। केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बिमा प्रतिष्ठानअन्तर्गत नगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेछन्।

ललितपुर महानगरपालिका र पाटन अस्पतालबिचको सहकार्यलाई मेयर महर्जनले देशभरका ७५३ स्थानीय तहका लागि उदाहरणीय अभ्यासको रूपमा लिन सकिने बताए । उनले ललितपुर महानगरपालिका ७५२ अन्य पालिकामध्ये उदाहरणीय पालिका बन्न सफल भएको दाबीसमेत गरे ।

कार्यक्रममा बोल्दै उनले पाटन अस्पताललाई गर्नुपर्ने भुक्तानी समयमै नगर्दा अस्पताल व्यवस्थापनमा समस्या परेको उल्लेख गर्दै सरकारले तत्काल समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए ।



प्रतिक्रिया दिनुहोस !