झुटा सूचनाको फैलावटले समाज गम्भीर समस्यातर्फ धकेलिँदै छ : उपाध्यक्ष पौडेल
काठमाडाैँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुटा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत तीव्र रूपमा फैलिने यस्ता सूचनालाई समयमै नियन्त्रण गर्न नसके समाज थप जटिलतातर्फ धकेलिने उनको चेतावनी छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिमको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले पत्रकारहरू झुटा सूचनाविरुद्ध सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
उनले सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यमका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै यसलाई रोक्न पत्रकारिताको भूमिका निर्णायक हुने बताए ।
“समाजमा झुटो सूचनाको बिगबिगी बढ्दो छ । सामाजिक सञ्जाल भ्रमपूर्ण सूचना फैलाउने मुख्य माध्यम बन्दै गइरहेका छन्,” पौडेलले भने, “यदि यसलाई नियन्त्रण गर्न सकिएन भने समाजमा गम्भीर समस्या पैदा हुन्छ । झुटा र भ्रामक सूचनाको रोकथाममा पत्रकारहरू जिम्मेवार र सचेत हुनुपर्छ । यसका लागि प्रेस चौतारीले अगुवाइ गर्नुपर्छ ।”
विज्ञान र प्रविधिले मानवीय जीवनमा ठूलो परिवर्तन ल्याइरहेको उल्लेख गर्दै उनले प्रविधिको तीव्र विकाससँगै विश्व अझ साँघुरो बन्दै गएको बताए । तर प्रविधिको प्रयोग मानवहितका लागि हुनुपर्नेमा उनले जोड दिए ।
उपाध्यक्ष पौडेलले प्रविधिले जति नै ठूलो परिवर्तन ल्याए पनि मानिस नै अन्तिम सत्य हुने स्पष्ट पारे । “प्रविधिले मान्छेको ज्ञान र विवेकलाई विस्थापित गर्न सक्दैन,” उनले भने, “विज्ञानको सहायताले मानिसले आफ्नो दैनिकी सहज बनाइरहेको छ, तर आफ्नै अस्तित्व समाप्त हुने गरी प्रविधिको प्रयोग हुनु हुँदैन ।”
उनले सामाजिक सञ्जालमा फैलिने झुटा सूचनाले समाजलाई गलत दिशातर्फ लैजाने खतरा रहेको उल्लेख गर्दै यस्ता सूचनाको पहिचान, विश्लेषण र नियन्त्रणमा पत्रकारको भूमिका अझ महत्वपूर्ण हुने बताए । सत्य, तथ्य र जिम्मेवारीलाई केन्द्रमा राखेर प्रविधिको प्रयोग गर्न उनले पत्रकारहरूलाई आग्रह गरे ।
प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा आयोजित उक्त तालिममा रुपन्देहीमा क्रियाशील दुई दर्जनभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको छ । तालिमका प्रशिक्षकका रूपमा एआई विज्ञ अजय शर्मा र अमृत पन्थी रहेका छन् ।









