आचारसंहिता उल्लङ्घनमा आयोग निर्ममः २४ दल र उम्मेदवारद्वारा स्पष्टीकरण पेश
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा कुनै पनि किसिमको नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ । आयोगले आचारसंहिता पालना गराउन तथा उल्लंघन गर्ने दल र उम्मेदवारलाई कानुनी दायरामा ल्याउन सक्रियता बढाएको जनाएको छ ।
शुक्रबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पछिल्लो समय जिल्लास्तरमै उजुरी दर्ता हुने र त्यहीँबाट फस्र्यौट गर्ने प्रवृत्ति बढेकाले केन्द्रमा आउने उजुरीको चाप घटेको बताए ।उनका अनुसार यसले अनुगमन र कारबाही प्रक्रियालाई थप प्रभावकारी बनाएको छ ।
आयोगले हालसम्म ३४ वटा राजनीतिक दल तथा उम्मेदवारसँग आचारसंहिता उल्लङ्घनसम्बन्धी स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिएको छ ।
प्राप्त जवाफहरूको अध्ययनपछि केन्द्रीय आचारसंहिता अनुगमन समितिले निर्वाचन कसुर तथा सजाय ऐनअनुसार आवश्यक निर्णय लिने प्रवक्ता भट्टराईले स्पष्ट पारे ।उनले जवाफ आइसकेपछि स्वतः विषय टुंगिने भन्ने भ्रम नरहेको उल्लेख गर्दै कानुनको मापदण्डअनुसार थप स्पष्टीकरण माग्ने वा कारबाही गर्ने निर्णय हुने बताए ।
प्रवक्ता भट्टराईका अनुसार हाल ६३ राजनीतिक दलका ५७ निर्वाचन चिन्हमा कुल ३ हजार १३५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये १ हजार ७७२ जना महिला र १ हजार ३६३ जना पुरुष उम्मेदवार रहेका छन् । समानुपातिकतर्फ पुरुषको तुलनामा महिला उम्मेदवारको संख्या बढी रहेको आयोगको तथ्याङ्कले देखाएको छ ।
निर्वाचन प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र सुधारोन्मुख बनाउन आयोग सधैँ तयार रहेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे ।








