टुथपेस्टमा अत्यधिक सिसा भेटिएको खुलासा, कडा अनुगमन गर्न चिकित्सक सङ्घको आग्रह
काठमाडौँ । बजारमा दैनिक प्रयोग हुने टुथपेस्ट, मुख तथा दन्त सरसफाइका सामग्री र विभिन्न सौन्दर्य सामग्रीहरूमा मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक सिसा (लेड) को मात्रा अत्यधिक भेटिएको भन्दै नेपाल चिकित्सक सङ्घले चिन्ता व्यक्त गरेको छ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेफेड) ले हालसालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार देशका विभिन्न शहरका पसलहरूबाट सङ्कलन गरिएका नमुनामध्ये ३१ प्रतिशतमा स्वीकृत अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी सिसा भेटिएको पाइएको छ। सङ्घका अनुसार यो अवस्था आम नागरिकको स्वास्थ्यका लागि खतरा हो।
अध्ययनमा दैनिक रूपमा प्रयोग हुने टुथपेस्टका ४५ प्रतिशत नमुनामा समेत सिसा भेटिनु अझै चिन्ताजनक विषय भएको नेपाल चिकित्सक सङ्घको ठहर छ। यसमा बालबालिकाका लागि बजारमा उपलब्ध केही सामग्रीहरू पनि समावेश हुनु बालस्वास्थ्यका दृष्टिले अत्यन्तै संवेदनशील विषय रहेको सङ्घले जनाएको छ।
विश्व स्वास्थ्य संगठनसहित विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूले सिसा मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक तत्व भएको वैज्ञानिक रूपमा प्रमाणित गरिसकेका छन्।
विशेषगरी बालबालिकामा सिसाले बौद्धिक विकासमा अवरोध, सिकाइ क्षमतामा कमी, व्यवहारिक समस्या उत्पन्न गराउने र दीर्घकालीन रूपमा दृष्टि, श्रवण तथा स्नायु प्रणालीमा गम्भीर असर पार्ने तथ्यहरू प्रमाणित भइसकेका छन्।
यस किसिमका हानिकारक सामग्रीको खुला बिक्रीले आम नागरिक र बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन जोखिम बढाउने भन्दै नेपाल चिकित्सक संघले यस्ता उत्पादनहरूको गुणस्तर परीक्षण, मापन र कडा नियमन गर्न सरकारसँग जोडदार माग गरेको छ। सङ्घले समयमै प्रभावकारी नियमन नभए स्वास्थ्य सङ्कट निम्तिन सक्ने चेतावनी समेत दिएको छ।








