झापा पूर्ण रूपमा एमालेमय हुन्छ : अध्यक्ष ओली
काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला यसपटक पूर्ण रूपमा एमालेमय हुने दाबी गरेका छन् ।
आज आफ्नै गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै झापालाई ‘सूर्यमय’ बनाउन सबै नेता, कार्यकर्ता र समर्थकलाई आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्न आग्रह गरेका हुन् ।
उनले पछिल्लो समय युवाहरू एमालेको पक्षमा जनमत निर्माण गर्न सक्रिय रूपमा लागिरहेको बताउँदै युवापुस्ताको ऊर्जा, उत्साह र सहभागिताले पार्टीलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे। युवाहरूको सक्रियताले आगामी दिनमा पार्टीलाई थप मजबुत बनाउने उनको धारणा थियो।
अध्यक्ष ओलीलाई चन्द्रगढी विमानस्थलमा नेकपा (एमाले)का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वसभामुख देवराज घिमिरे, पूर्वमन्त्री देवेन्द्र दाहाललगायत पार्टीका नेता–कार्यकर्ता तथा युवाहरूको उल्लेखनीय उपस्थितिमा भव्य स्वागत गरिएको थियो।








