‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः ओली
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा नेपालको प्राचीन सभ्यता र वेदको दर्शनबाट प्रेरित भएको बताएका छन् ।
एक धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल पाँच हजार वर्ष पुरानो गौरवशाली इतिहास बोकेको देश भएको उल्लेख गर्दै यहाँको ज्ञान–विज्ञानको परम्परा विश्वमै अग्रणी रहेको दाबी गरेका हुन् । उनले वेदमा उल्लिखित ‘सर्वे भवन्तु सुखिनः’ भन्ने मन्त्रलाई आधुनिक युगको समृद्धिको आधारका रूपमा व्याख्या गरे ।
सम्बोधनका क्रममा ओलीले ‘हिन्दु राष्ट्र’ र ‘सनातन धर्म’ बिचको भिन्नता स्पष्ट पार्दै सनातन परम्परा नेपालका सबै धर्म मान्ने मानिसहरूको साझा सभ्यता र पहिचान भएको धारणा राखे। ‘हिन्दु राष्ट्र’ भन्ने शब्द पछिल्ला केही शताब्दीमा मात्र प्रचलनमा आएको उल्लेख गर्दै उहाँले सनातन संस्कृति सबै नेपालीको साझा सम्पत्ति भएको बताए ।
उनले चिकित्सा विज्ञानको सुरुआत नेपालकै भूमिबाट भएको दाबी गर्दै ऋषि विश्वामित्र र सुश्रुतको योगदानको चर्चा गरे । नेपाललाई ‘देवभूमि’, ‘तपोभूमि’ र ‘ज्ञानभूमि’ को संज्ञा दिँदै हराउँदै गएको राष्ट्रिय गौरव पुनर्स्थापित गर्ने आफ्नो सङ्कल्प रहेको उनले बताए ।
अध्यक्ष ओलीले आफ्नो सम्बोधनमा वेदका मन्त्र उद्धृत गर्दै सबै मानिस सुखी, निरामय र भयमुक्त जीवन बिताउनुपर्ने आदर्श नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानको आधार भएको उल्लेख गरे ।
कार्यक्रममा उम्मेदवारको हैसियतमा सहभागी भएका ओलीले आफू निर्वाचन आचारसंहिताप्रति सचेत रहेको बताउँदै चुनाव प्रचारका लागि नभई देश बनाउने सङ्कल्प दोहोर्याउन आएको स्पष्ट पारे। आचारसंहिताका कारण चाहेर पनि पुराणमा दान गर्न नमिल्ने बाध्यता रहेको उनको भनाइ थियो








