२५ माघ २०८२, आइतबार

विदेशी आशीर्वादबाट होइन, संघर्षबाट बनेको पार्टी हो राप्रपा : अध्यक्ष लिङ्देन

प्रकाशित मिति :  8 February, 2026 11:20 am


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वादबाट बनेको नभई नेपाली माटोमा संघर्षबाट जन्मिएको दल भएको बताएका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपालाई कमजोर ठानेर निषेध गर्न सकिन्छ भन्ने भ्रम नपाल्न चेतावनी दिए । उनले राप्रपा कसैको ‘जुठो कुरो’ खाएर बनेको पार्टी नभएको र चुनौतीको सामना गर्ने क्षमता रहेको बताए ।

कार्यक्रममा उनले व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंमाथि सरकारले पटक–पटक अवरोध र पक्राउ गर्ने काम गरेको भन्दै त्यसको निन्दा गरे । उनले सरकार नियतवश प्रसाईंलाई निरुत्साहित पार्न लागेको आरोप लगाए ।

संविधानले वाक स्वतन्त्रता, हिँडडुलको स्वतन्त्रता, प्रकाशनको स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता र विरोध गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले शान्तिपूर्ण रूपमा निर्वाचन बहिष्कार वा विरोध गर्न पाउने अधिकार नागरिकको मौलिक अधिकार भएको जिकिर गरे । प्रसाईंमाथि सरकारले ज्यादती गरेको भन्दै उनले त्यसको पुनः भर्त्सना गरे ।

देशमा बढ्दो अतिवाद र विदेशी हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष लिङ्देनले देशको निर्णय नेपालीकै हातमा हुनुपर्नेमा जोड दिए । उनले आगामी प्रधानमन्त्री को बन्ने भन्ने विषयमा समेत विदेशी शक्तिको प्रभाव बढ्न थालेको टिप्पणी गरे ।

मतदाताहरूलाई सामाजिक सञ्जालका सामग्रीका आधारमा धारणा नबनाई देशको भविष्यलाई केन्द्रमा राखेर निर्णय गर्न उनले आग्रह गरे ।

अध्यक्ष लिङ्देनले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी कुन्ती पोखरेल निष्ठावान र सेवामा समर्पित व्यक्तित्व भएको दाबी गर्दै उनको पक्षमा मत मागे ।

उनले पोखरेललाई मतदान गर्नु भनेको एउटा व्यक्तिलाई मात्र नभई देश र धर्म जोगाउने अभियानमा सहभागी हुनु भएको दाबी गरे । निर्वाचन आचारसंहिताको सम्मान गर्दै उनले मतदाताहरूलाई ‘हलो’ चिन्हमा मतदान गर्न सांकेतिक आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !