२७ माघ २०८२, मंगलबार

विचार र राजनीतिक मुद्दाका आधारमा नेकपा नै सबैभन्दा नयाँ पार्टी होः संयोजक दाहाल

प्रकाशित मिति :  10 February, 2026 12:17 pm


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टी विचार, नाम र राजनीतिक मुद्दाका दृष्टिकोणले नेपालकै सबैभन्दा नयाँ शक्ति भएको दाबी गरेका छन् ।

पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन । उनले नयाँ हुनुको अर्थ केवल पुरानाको विरोध गर्नु नभई अग्रगामी विचार र एजेण्डा बोक्नु भएको स्पष्ट पारे ।

दाहालले उपत्यकाभित्र रहेका विभिन्न क्षेत्रका मतदाताहरूलाई निर्वाचनमा सहभागी गराउन र नामावली भएको स्थानमा केन्द्रित गर्न कार्यकर्ताहरूलाई योजनावद्ध र संस्थागत रूपमा लाग्न निर्देशन दिए । उनले यसको प्रत्यक्ष प्रभाव निर्वाचनको परिणाममा पर्ने भन्दै आजैदेखि तयारी थाल्न आग्रह गरे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संवाहक र उत्पीडित वर्ग, जाति, तथा समुदायको पहिचान स्थापित गर्ने मुद्दा आफ्नो पार्टीको मुख्य आधार भएको बताए । दाहालकाअनुसार यो विचारभन्दा नयाँ र उन्नत विचार हाल नेपालको राजनीतिमा अन्य कसैको पनि छैन । अहिले सामाजिक सञ्जालमार्फत ‘नयाँ’ हुनुको गलत भाष्य निर्माण गर्न खोजिएकोमा उनले आपत्ति जनाए ।

संयोजक दाहालले आफूलाई नयाँ भन्ने कतिपय शक्तिहरूलाई वैचारिक रूपमा सबैभन्दा पुराना भएको आरोप लगाए । उदार र दलाल पुँजीवादको पक्षपोषण गर्नेहरू विश्व इतिहासकै पुरानो विचारमा आधारित रहेको भन्दै उनले उनीहरू कुनैपनि हालतमा नयाँ हुन नसक्ने जिकिर गरे । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !