एमाले प्रवेश गर्दै खनालले भनेः देशमा वैदेशिक हस्तक्षेप बढ्यो, ओलीको राष्ट्रवादी अडानमा साथ दिन्छौं
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र समेत रहेको झापा ५ मा रास्वपाका सक्रिय नेता खनालको बहिर्गमनलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
एमाले प्रवेश गर्दै खनालले वर्तमान राजनीतिक घटनाक्रमले देशको राष्ट्रियतामाथि गम्भीर आँच पुर्याएको दाबी गरे ।उनले देशमा वैदेशिक शक्तिहरूको चलखेल बढेको र यस्तो विषम परिस्थितिमा राष्ट्रवादी शक्तिलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
उनले विदेशी फाउण्डेसन र साम्राज्यवादी शक्तिहरूको ‘नाङ्गो नाच’ नेपालमा भइरहेको आरोप लगाए । खनालले मिडिया ट्रायलका आधारमा मात्र नभई सुक्ष्म र गहन ढंगले अनुसन्धान गरेर देशको भविष्य र वर्तमान स्थितिको विश्लेषण गर्नुपर्ने बताए । उनले झापा ५ का युवाहरु राष्ट्रवादी धारमा उभिन तयार रहनुपर्ने बताए ।








