पूर्वराजाले भनेः राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनतर्फ जानु उचित हुन्छ
काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा राष्ट्रिय समस्याको समाधान हुनु आवश्यक रहेको बताएका छन्।
प्रजातन्त्र स्थापनाको ७५औँ वर्षगाँठको पूर्वसन्ध्यामा जारी गरेको सन्देशमा उनले प्रजातान्त्रिक प्रणालीमा प्रतिनिधि छनोटको आवधिक निर्वाचन स्वाभाविक भए तापनि अहिलेको परिस्थितिमा पहिले राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी कायम गरेर मात्र निर्वाचनमा जानु उचित हुने स्पष्ट पारेका हन्।
“निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर मात्रै निर्वाचन प्रक्रियातर्फ जानुपर्छ,”पूर्वराजाले भनेका छन् ।
उनले वर्तमान राजनीतिक परिस्थिति असामान्य र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै, परस्पर घृणा र द्वन्द्वको राजनीतिमा पूर्णविराम लगाउन र सद्भाव तथा एकताको राजनीतिक संस्कृतिलाई प्रवर्द्धन गर्न आग्रह गरेका छन्।
प्रजातन्त्रमा जनता जागरुक भएर समाज र राष्ट्र सेवामा अग्रसर हुनुपर्छ भने अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्तिले मुलुकलाई कुनै नयाँ गति दिन नसक्ने पनि दाबी गरे।
उनले मुलुकको भू–बनोट, समाजको प्रकृति र जनताको आवश्यकता अनुसार व्यवस्थामा सुधार गर्दै जानुपर्ने आवश्यकता पनि औँल्याएका छन्।








