६ फाल्गुन २०८२, बुधबार

जनताको घरघरमा पुग्न सबै उम्मेदवार र नेतालाई ओलीकाे निर्देशन

प्रकाशित मिति :  18 February, 2026 4:49 pm


झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको घर घर पुग्न पार्टीका उम्मेदवारलाई निर्देशन दिएका छन् ।

फागुन २१ मा घोषित निर्वाचनको मिति नजिकिँदै गर्दा एमाले अध्यक्ष ओलीले पार्टीका मूलभूत एजेन्डा लिएर जनताको घर घरमा पुग्न सबै उम्मेदवार र नेतालाई निर्देशन दिएका हुन् ।

काठमाडौँ फर्किने क्रममा झापाको बिर्तामोडस्थित होटल हेभनमा बोलाएर एमाले अध्यक्ष ओलीले जनस्तरमा रहेका भ्रम चिर्ने गरी जनताका घरमा पुग्न उम्मेदवार र अगुवा नेता कार्यकर्तालाई निर्देशन दिए । उम्मेदवार र अगुवा नेता कार्यकर्ताको छलफलमा सहभागी झापा क्षेत्र नम्बर ४ निर्वाचन परिचालन कमिटीका संयोजक मनोज ताम्लीले परिणाम निकाल्ने गरी लाग्न अध्यक्ष ओलीले निर्देशन दिएको बताए ।

“सबै नेता कार्यकर्ता परिणाम निकाल्ने गरी निर्वाचनमा खटिनुपर्छ,” अध्यक्ष ओलीको भनाइ उल्लेख गर्दै संयोजक ताम्लीले भने,”जनस्तरमा रहेका भ्रम चिर्न जनताका घर-घरमा पुग्न पनि उहाँको विशेष निर्देशन छ ।”

छलफलमा झापाका सबै क्षेत्रका उम्मेदवारको सहभागिता रहेको थियो । यसबाहेक निर्वाचन परिचालन कमिटीका संयोजकहरू पनि अध्यक्ष ओलीसँगको छलफलमा सहभागी थिए । उनीहरूले निर्वाचन परिचालनका विषयमा भइरहेको प्रगतिका विषयमा अध्यक्ष ओलीलाई रिपोर्टिङ गरेका छन् ।

अध्यक्ष ओलीसँगको छलफलमा उम्मेदवारहरूले सामाजिक सञ्जालमा देखिए जस्तो अरु कुनै पार्टीको पक्षमा जनमत नरहेको प्रतिक्रिया दिएका छन् । चुनावी प्रचार अभियानका सिलसिलामा भएका नियमित भेटघाट र बैठकहरूमा समेत मतदाताले एमालेको पक्षमा खुलेर समर्थन गरेको र त्यसबाट सकारात्मक परिणाम प्राप्त हुने उम्मेदवारहरूको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस !