लोकप्रियतावादी राजनीति मुलुकका लागि घातक हुनसक्छ : वर्षमान पुन
रोल्पा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले लोकप्रियतावादी राजनीति मुलुकका लागि घातक हुन सक्ने दाबी गरेका छन् ।
गृह जिल्ला रोल्पाको सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा बोलदै रोल्पाबाट नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका नेता पुनले स्पष्ट विचार, दृष्टिकोण र गन्तव्यबिनाको राजनीतिले मुलुकलाई सही दिशा दिन नसक्ने बताए ।
कुन ठाउँमा के बोल्दा मानिसले मन पराउँछन् भन्ने आधारमा बोल्दै हिँड्नेहरूले देशको नेतृत्व लिन नसक्ने भनाइ उनको छ ।
काठमाडौँमा सङ्घीयताको विरोध गर्ने र जनकपुर पुगेर सङ्घीयता चाहिन्छ भन्ने र काठमाडौँबाट सुकुम्बासीलाई लखेटेर झापामा पुगेपछि सुकुम्बासीको पक्षमा काम गर्छु भन्नेजस्ता असङ्गत अभिव्यक्ति दिनेहरूबाट कुनै आशा गर्न नसकिने तर्क पुनले गरे । उनले आफूलाई नयाँ भन्ने राजनीतिक दललाई आफ्नो विचार, राजनीति र कार्यदिशा स्पष्ट गर्न आग्रह गरे ।
“काठमाडौँमा सङ्घीयताको विरोध गर्ने र जनकपुर गएपछि सङ्घीयता चाहिन्छ भन्ने । काठमाडौँमा सुकुम्बासी, ठेलागाडामा व्यापार गर्नेहरू र कबाडीको काम गर्नेलाई खेद्ने अनि झापा झरेपछि सुकुम्बासीको पक्षमा छौँ भन्ने ?” पुनले भने,“जहाँ जसले जे सुन्न चाहेको छ त्यही बोल्ने ‘पपुलिष्ट’ राजनीति घातक छ । ‘हामी नयाँ हौँ भन्ने साथीहरूलाई आफ्नो विचार, राजनीति र कार्यदिशा स्पष्ट गर्न म आग्रह गर्न चाहन्छु ।”
उनको भनाइ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उक्त दलले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका बालेन्द्र शाह (बालेन) प्रति लक्षित भए पनि कसैको नाम भने लिएनन् ।
यद्यपि वर्तमान संघीय लोकतान्त्रिक शासन प्रणाली स्वीकार गर्ने स्पष्ट प्रतिबद्धता तथा गणतन्त्रलाई समाजवादसँग जोड्ने, असमावेशीतलाई पूर्ण समावेशीतालामा लैजाने, धनी र गरिबबीचको खाडल पुरेर समानता कायम गर्ने एजेण्डामा समहत भए नयाँ भनिएका दलसँग सहकार्यका लागि तयार रहेको पुनले बताए ।
“हामी नयाँसँग काम गर्न तयार छौं । तर, अहिलेको उपलब्धी खोसेर पछि हट्न खोज्ने नयाँसँग होइन, अहिलेको उपलब्धी जोगाएर अघि बढ्ने नयाँसँग काम गर्न हामी तयार छौँ ।”
पुनले विचार, राजनीति र एजेन्डाले नेपाली कम्युनिष्ट पार्टी नयाँ दल भएको दाबी गरे ।
आफूहरू यथास्थितिवादी तथा नयाँका नाममा दक्षिणपन्थी लोकप्रियतावादी नभएको बताए । “विचारले नयाँ, राजनीतिले नयाँ, एजेण्डाले नयाँ हामी हौँ”, उनले भने, “यथास्थितिवादी र नयाँका नाममा दक्षिणपन्थी लोकप्रियतावादी पनि होइनौं हामी । जनताले बुझ्नुपर्ने विषय यो छ ।”








