१२ फाल्गुन २०८२, मंगलबार

रोल्पामा आर्थिक मुद्दालाई स्थापित गराउने प्रयासमा कांग्रेसका उम्मेदवार अर्थशास्त्री डा.वली

प्रकाशित मिति :  24 February, 2026 11:24 am


काठमाडौँ । ३४ वर्षीय डा. सुदन कुमार वली यसपटक रोल्पाबाट प्रतिनिधि सभाको उम्मेदवार छन् ।

विशेष महाधिवशेनबाट कांग्रेसको नेतृत्व परिवर्तन भएसँगै रोल्पाबाट चुनाव लड्न वली छनौटमा परेका थिए ।

रोल्पाबाट कांग्रेसका तत्कालीन महामन्त्री(हाल सभापति) गगनकुमार थापा र पूर्वमन्त्री अमरसिंह पुन सिफारिसमा परेका थिए ।

सुरुमा सम्भवत : डा.वली उम्मेदवार भन्ने कुनै छनकसमेत थिएन । केन्द्रमा नेतृत्व परिवर्तन भएसँगै डा.वलीले अवसर पाएर पहिलो पटक रोल्पाबाट प्रतिनिधि सभाको चनाव लड्दैछन् ।

आर्थिक मुद्दालाई स्थापित बनाउने प्रयास

डा. वलीले यसपटक चुनावको मुख्य नारा बनाएका छन्,‘रोल्पाले अब राजनीतिको मात्र कुरा गर्दैन अब विकासको प्रष्ट दृष्टिकोणसहित अगाडि बढ्छ ।’ रोल्पा माओवादी प्रभावित क्षेत्र हो ।

रोल्पामा स्वाभाविक रूपमा बढी राजनीतिक बहस हुनेगर्छ ।

आर्थिक विकासको आवश्यकता भए पनि रोल्पामा राजनीतिक बहस चर्को हुने भएका कारणले पनि हुनसक्छ,‘रोल्पाले अब राजनीतिको मात्र कुरा गर्दैन अब विकासको प्रष्ट दृष्टिकोणसहित अगाडि बढ्छ’ भन्ने कुरालाई बढी प्राथमिकता दिएका छन् ।

उनी मुख्यतया पूर्वअर्थमन्त्री वर्षमान पुनसँग प्रतिस्प्रधा गरिरहेका छन् ।

पुनपनि ३७ वर्षको उमेरमा मन्त्री बनेका थिए । ३९ वर्ष पुग्दा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । ३४ वर्षे अर्थशास्त्री डा. वलीले उनै पुनसँग प्रतिस्प्रधामा उत्रेका छन् ।

डा. वली दुई कार्यकाल लुम्बिनी प्रदेश योजना आयोगको सदस्य भइसकेका व्यक्ति हुन् । रोल्पाको परिवर्तन गाउँपालिका वडा नं ६ चाबाङ, इरिबाङका स्थायी वासिन्दा वलीले २०६० देखि नेपाल विद्यार्थी सङ्मा आवद्ध भएर राजनीति सुरु गरेका थिए ।

जनता प्रावि चाबाङ, इरिबाङ–४ रोल्पाबाट कक्षा ५ सम्म अध्ययन गरेका वली जीवनज्योति मावि तापला, राक, रोल्पा कक्षा ८ सम्म पढेका थिए ।

बालकल्याण मावि लिबाङबाट एलएलसी गरेका डा. वलीले एसियन कलेज अफ म्यानेजमेन्ट जावलाखेल ललितपुरबाट प्लस टु र स्नातक तहको अध्ययन पुरा गरेका थिए ।

युनिग्लोब कलेज काठमाडौँबाट एमबिए गरेका डा. वलीले चीनको बेइजिङस्थित अन्तर्राष्ट्रिय व्यापार तथा अर्थशास्त्र विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि( पिएचडी) गरेका छन् ।

नेपाली कांग्रेसको १२ औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको सक्रिय सदस्यता लिएका उनी कांग्रेसको आर्थिक नीति तथा योजना विभागको सदस्य र नीति, तालिम तथा अनुसन्धान संस्थानको विशेषज्ञ सदस्य छन् ।

उनले युवा तथा खेलकुद मन्त्रालयका लागि नीति विज्ञको रूपमा काम गर्नुका साथै विभिन्न स्वदेशी तथा अन्तर्राष्ट्रिय संस्थानहरूका लागि सल्लाहकारको भूमिका समेत निर्वाह गरिसकेका छन् ।

इनिसियटिभ्स फर इक्वेटेबल अर्थको सहसंस्थापक रहेका डा. वलीले एनइए इन्जिनियरिङमा अर्थशास्त्रीको रूपमा समेत काम गरेका छन् ।

समसामयिक अर्थशास्त्रको मुद्दा उठान गर्दै आएका उम्मेदवार वलीले भने,“राजनीतिक कुरा धेरै भए अब आर्थिक विकासलाई केन्द्रमा राख्नुपर्छ । मेरो उद्देश्य राजनीतिक बहस त हुनुपर्छ तर आर्थिक विकासलाई बाहिर राखेर गरिने राजनीतिक बहसले मात्रै समस्या समाधान गर्दैन ।”

रोल्पामा वली र पुनसहित १० जना उम्मेदवार चुनावी मैदानमा छन् ।

नेकपा एमालेबाट गोकुलप्रसाद घर्ती, नेकपा(माओवादी) चुडामणि वली,रास्वपाबाट बलराम थापा, राप्रपाबाट अम्मरबहादुर थापाक्षेत्री, आम जनता पार्टीबाट दीलबहादुर कामी, राष्ट्रिय जनमोर्चाबाट मेखबहादुर विष्ट,नेसनल रिपब्लिक नेपालबाट मनबहादुर घर्तीमगर, मंगोल नेशनल अर्गनाइजेसनबाट कुमार घर्तीमगर उम्मेदवार छन् ।



प्रतिक्रिया दिनुहोस !