१३ फाल्गुन २०८२, बुधबार

काठमाडौँ–५ का उम्मेदवार पोखरेलले पाँच वर्षमा ६० सार्वजनिक सुनुवाइ गर्ने घोषणा

प्रकाशित मिति :  25 February, 2026 3:45 pm


काठमाडाैँ । काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधी सभा सदस्य उम्मेदवार सस्मित पोखरेलले आफ्नो पाँच वर्षे कार्यकालमा नियमित र संस्थागत सामुदायिक सुनुवाइ सञ्चालन गर्ने स्पष्ट कार्ययोजना सार्वजनिक गरेका छन्।

पोखरेलले प्रत्येक महिना एक वडा केन्द्रित गर्दै सामुदायिक सुनुवाइ आयोजना गर्ने घोषणा गरेका हुन्। जसअनुसार पाँच वर्षमा कुल ६० वटा सार्वजनिक सुनुवाइ सम्पन्न गरिनेछ। क्षेत्र नम्बर ५ अन्तर्गतका १५ वटै वडामा कम्तीमा चार–चार पटक प्रत्यक्ष सुनुवाइ सुनिश्चित गर्ने उनको योजना रहेको छ।

सामुदायिक सुनुवाइ कार्यक्रम केवल औपचारिक भेटघाट नभई जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद र उत्तरदायित्व स्थापित गर्ने संरचित अभ्यास रहेको पोखरेलको बुझाइ छ ।

“निर्वाचनपछि जनप्रतिनिधि हराउने संस्कार अन्त्य हुनुपर्छ। जनतासँग नियमित रूपमा भेट्ने, प्रगति सार्वजनिक गर्ने र प्रश्नको जवाफ दिने संस्कृति विकास गर्नुपर्छ,” पोखरेलले भने।

कार्यक्रमअन्तर्गत सम्बन्धित वडामै खुला मञ्चमार्फत सुनुवाइ आयोजना गरिनेछ, जहाँ स्थानीय बासिन्दाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन लगायतका विषयमा प्रत्यक्ष प्रश्न राख्न सक्नेछन्। आवश्यकताअनुसार सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरी समस्याको समाधान प्रक्रियालाई अघि बढाइने जनाइएको छ।

पोखरेलले यस योजनालाई आफ्नो चुनावी नारामात्र नभई कार्यकालभरि कार्यान्वयन गरिने स्पष्ट प्रतिबद्धता भएको बताएका छन्। “जनताको विश्वास जित्नु मात्र पर्याप्त हुँदैन, त्यो विश्वासलाई निरन्तर संवादमार्फत् कायम राख्नुपर्छ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !