१५ फाल्गुन २०८२, शुक्रबार

अधिकांश उम्मेदवारले बैङ्क खाता नखोल्दा निर्वाचन खर्च निगरानी चुनौतीपूर्ण

प्रकाशित मिति :  27 February, 2026 2:51 pm


काठमाडाैँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दर्ता भएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये आधाभन्दा बढीले बैङ्क खाता खोलिसकेको छैनन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म केवल एक हजार ६७० उम्मेदवारले मात्र बैङ्क खाता खोलेका छन्। त्यसैगरी, निर्वाचनमा भाग लिएका ६५ राजनीतिक दलमध्ये ११ दलले मात्रै बैङ्क खाता खोलेको आयोगले जनाएकाे छ ।

खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका छन्।

निर्वाचन आयोगले उम्मेदवार र दललाई बैङ्क खाता खोल्न लगाएको मुख्य उद्देश्य प्रचारप्रसारको आर्थिक पारदर्शिता सुनिश्चित गर्नु र निर्वाचन कानुनअनुसार खर्च सीमा पालना हुने सुनिश्चित गर्नु हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार दर्ता भएका सबै दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले आयोगमा बैङ्क खाता खोलेर प्रचारप्रसारका लागि आर्थिक कारोबार गर्नुपर्ने व्यवस्था छ। यस खातामार्फत मात्र निर्वाचन सम्बन्धी आर्थिक सहयोग लिइ, खर्च गर्न सकिने प्रावधान छ।



प्रतिक्रिया दिनुहोस !