पहिलो पटक ‘हरित निर्वाचन’ को अवधारणाः डिजिटल माध्यमबाट प्रचारप्रसार
काठमाडाैँ । निर्वाचन आयोगले पर्यावरण संरक्षणका लागि यसपटक ‘हरित निर्वाचन’ को नीति अवलम्वन गरेको छ ।
जैविक रूपले नष्ट नहुने वा वातावरणमा हानी पुर्याउने कागज, प्लाष्टिक, इन्धन जस्ता सामाग्रीको न्युनतम प्रयोग गर्दे दिगो, प्रदुषणमुक्त रुपमा सम्पन्न गरिने निर्वाचनलाई ‘हरित निर्वाचन’ भन्ने गरिन्छ ।
निर्वाचन प्रचारका लागि प्रयोग हुने सामाग्रीहरू वातावरणमैत्री हुनुपर्छ भन्ने अवधारणा यसले बोकेको हुन्छ । सोहीअनुसार आयोगले कागजको प्रयोग कम गरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्न दलहरूलाई निर्देशन दिएको थियो ।
निर्वाचन आयोगले यसपटकको निर्वाचनमा पहिलो पटक ‘हरित निर्वाचन’ को अवधारणा अगाडि सारेको निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले बताइन् । उनले पर्यावरण प्रदुषण कम गर्न र कागजको प्रयोग घटाउन डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने कुरालाई आयोगले आचारसंहितामा नै अनिवार्य गरेको बताइन्।
उनले भनिन्, “कागज कम प्रयोग गरौँ र डिजिटल माध्यमबाट प्रचारप्रसार गरौँ भन्ने हो । प्रदुषण कम गर्न आयोगले यसलाई आचार संहितामा नै राखेको हो । त्यसैले यसपालीको निर्वाचनलाई हामीले हरित निर्वाचन पनि भनेका छौँ । राजनीतिक दलहरुले पनि चुनाव प्रचार प्रसारमा डिजिटल माध्यम नै बढी प्रयोग गरिरहेको हामीले पाएका छौँ ।”
प्रतिनिधि सभा निर्वाचनमा राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले कागजी प्रचार सामाग्री भन्दा डिजिटल सामाग्रीलाई महत्व दिएको पाइएको छ ।








