नेपाली काँग्रेस प्रत्यक्षतर्फ १७ सिटमा विजयी
काठमाडौँ । नेपाली काँग्रेस प्रत्यक्षतर्फ १७ सिटमा विजयी भएको छ ।
फागुन २१ गते सम्पन्न भएको निर्वाचनको मतगणना जारी रहँदा नेपाली काँग्रेस १७ सिट जित्दै दोस्रो स्थानमा रहेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ११७ स्थानमा विजयी भएको छ भने ८ स्थानमा अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै, नेकपा एमाले ७ स्थानमा विजयी ३ स्थानमा अग्रता, नेकपा ६ स्थानमा विजयी, श्रम संस्कृति पार्टी ३ स्थानमा विजयी, राप्रपा र स्वतन्त्र १ १ स्थानमा विजयी भएका छन् ।
काँग्रेसले कोशी प्रदेशको पाँचथरबाट नरेन्द्र कुमार केरुङ, तेह्रथुमबाट सन्तोष सुब्बा र सोलुखुम्बुबाट प्रकाश सिंह कार्की विजयी भएका छन् ।
यस्तै, मधेश प्रदेशको रौतहटबाट मोहम्मद फिरदोश आलम र बागमती प्रदेशको रसुवाबाट मोहन आचार्य विजयी भएका छन् ।
यस्तै, गण्डकी प्रदेशको मनाङबाट टेक बहादुर गुरुङ, मुस्ताङबाट योगेश गौचन थकाली र लुम्बिनी प्रदेशको पाल्पाबाट सन्दीप राना र कपिलवस्तुबाट अभिषेक प्रताप शाह विजयी भएका छन् ।
कर्णाली प्रदेशको मुगुबाट खड्ग शाही, हुम्लाबाट जयपती रोकाया, जाजरकोटबाट खडक बहादुर बुढा, दैलेखबाट वासना थापा र सुर्खेतबाट विष्णु बहादुर खड्का विजयी भएका छन् ।
यस्तै, सुदुरपश्चिम प्रदेशको बाजुराबाट जनकराज गिरी, अछामबाट भरत कुमार स्वाँर र डोटीबाट भरत बहादुर खड्का विजयी भएका छन् ।
समानुपातिकमा ४३ लाख ६५ हजार ६२६ मत गणना हुँदा नेपाली काँग्रेसले ७ लाख ३७ हजार ८३६ मत प्राप्त गरेको छ ।








