३० फाल्गुन २०८२, शनिबार

बाल गीताञ्जली स्कुलमा ‘थर्ड ग्रान्ड कुकिङ कम्पिटिसन’ सम्पन्न, विद्यार्थीले देखाए पाककला सीप

प्रकाशित मिति :  14 March, 2026 9:51 pm


काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिकास्थित बाल गीताञ्जली स्कुलमा बाल गीताञ्जली स्काउट ट्रुपको आयोजनामा ‘थर्ड ग्रान्ड कुकिङ कम्पिटिसन’सम्पन्न भएको छ।

प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूले नेपाली खाना सेटसहित विभिन्न स्वादिला परिकार तयार पार्दै आफ्नो सिर्जनशीलता, मेहनत र पाककला सीप प्रस्तुत गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले दाल–भात–तरकारी, अचार लगायतका परम्परागत नेपाली खाना सेटदेखि विभिन्न परिकारहरू तयार पारेका थिए।

साना विद्यार्थीहरूले समूहमा मिलेर तयार पारेका परिकारहरूले उपस्थित शिक्षक, अभिभावक तथा अतिथिहरूको ध्यान आकर्षित गरेको थियो। कार्यक्रमले सिकाइसँगै सीपको अवधारणालाई व्यवहारमा उतार्ने उत्कृष्ट उदाहरण प्रस्तुत गरेको विद्यालयका प्रिन्सिपल महिन्द्रा राज घिमिरेले बताए ।

प्रतियोगितामा मुख्य निर्णायक तथा अतिथिका रूपमा सहभागी भएका लक्ष्मण प्रसाद भण्डारीले विद्यार्थीहरूले देखाएको उत्साह, सिर्जनशीलता र अनुशासन प्रशंसनीय रहेको बताउँदै यस्तो गतिविधिले बालबालिकामा आत्मविश्वास र जीवनोपयोगी सीप विकास गर्न मद्दत गर्ने धारणा व्यक्त गरे।

विद्यालयका प्रिन्सिपल घिमिरेले विद्यालयले पढाइसँगै व्यवहारिक सीप विकासमा पनि जोड दिइरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भविष्यमा पनि यस्ता सिर्जनात्मक तथा सीपमूलक गतिविधि निरन्तर सञ्चालन गरिने जानकारी दिए।

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याएका शिक्षक–शिक्षिका, स्काउट सदस्य तथा सहयोगी हातहरू प्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल विद्यार्थीहरूलाई बधाई दिँदै आयोजकले सहभागी सबै विद्यार्थीहरूको सक्रियता र प्रयासको प्रशंसा गरेको छ।



प्रतिक्रिया दिनुहोस !