शंकर पोखरेलको टिप्पणी-‘लहरले मात्र स्थायित्व दिंदैन’
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले चुनावी ‘लहर’ मात्रैका आधारमा दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नहुने बताएका छन् । उनले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पोखरेलले पछिल्लो समय देखिएको ‘बालेन लहर’ लाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।
उनले सन् १९८४ मा भारतमा देखिएको ‘राजीव लहर’ सँग तुलना गर्दै क्षणिक जनलहरले मात्रै दीर्घकालीन सफलता सुनिश्चित नगर्ने उल्लेख गरेका छन् ।
उनका अनुसार जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण तथा निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको मुख्य आधार हुन् । पोखरेलले जित्ने र हार्ने दुवै पक्षका लागि यस्ता अनुभवहरू सिकाइका विषय हुने पनि बताएका छन्।
पोखरेलको स्टाटस जस्ताको तस्तै
चुनावको नतिजा र शिक्षा
सन १९८४ को भारतीय आम चुनावमा आजको नेपालको चुनावमा देखिएको “बालेन लहर” जस्तै “राजीव लहर” देखिएको थियो। त्यस समयमा भारतीय लोकसभामा कांग्रेस (आई) ले दुई तिहाइभन्दा बढी सिटमा ऐतिहासिक विजय हासिल गरेको थियो। वर्तमान सत्तारूढ दल भाजपा भने उक्त चुनावमा केवल २ सिटमा सीमित भएको थियो।
तर, त्यस्तो विशाल सफलता प्राप्त गरेपछि पनि कांग्रेस (आई) क्रमशः कमजोर बन्दै गयो, जबकि भाजपा विस्तारै सशक्त बन्दै अघि बढ्यो। यही प्रक्रियाको परिणामस्वरूप आज भाजपा नरेन्द्र मोदी को नेतृत्वमा लगातार तेस्रो कार्यकालका लागि भारतको केन्द्रीय शासनमा स्थापित भएको छ।
यस घटनाक्रमले एउटा महत्वपूर्ण शिक्षा दिन्छ—चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन। जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण, र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार हुन्।
जित्ने र हार्ने दुबैका लागि यी शिक्षाका विषय हुन् ।








